मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो सचिवालय हेरफेर प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य नियुक्त

५ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो सचिवालय हेरफेर गरेका छन् । उनले आज आफ्ना दुई स्वकीय सचिवसहित एकजना सल्लाहकार हेरेफेर गरेका हुन् ।

मुख्यमन्त्री शाहीले आफनो प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य, जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली) र स्वकीय सचिवमा रवीन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन् ।

विगत तीन वर्षदेखि प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका खेमबहादुर सिंह, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी र स्वकीय सचिव सुमन शाहीलाई उनले आजै बिदा दिंदै अरु तीन जनलाई नियुक्त गरेका छन् ।

अन्य नेताहरुलाई पनि अवसर दिन सचिवालय हेरफेर गरिएको मुख्यमन्त्री शाहीको भनाइ छ । ‘सचिवालय हेरफेर गर्नुको पछाडि कुनै कारण छैन । सबै साथीहरुलाई काम गर्ने अवसर प्रदान गरिएको हो,’ मुख्यमन्त्री शाहीले भने ।

तीन दिनअघि मात्रै प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि पदबाट राजीनामा दिएका थिए ।