आजदेखि डाक्टरहरूले जाँच्ने शुल्क बढ्यो

५ फागुन, काठमाडौं । आजदेखि डाक्टरहरूले जाँच्ने शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो।

संघ र अफिन संयुक्त बैठक बसेर आजदेखि नै लागू हुने गरी शुल्क बढाएको हो ।

स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरेको थियो ।

सो सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो ।

तर त्यसलाई कार्यान्वयन नहुँदा संघ र अफिनले मंगलबार बैठक बसेर नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानेर नयाँ परामर्श शुल्क तोकेको हो ।

पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तोकेको छ ।

त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क ८ सय २५ तोकेको छ ।