४ फागुन, प्युठान । प्रधानमन्त्री बिरुद्ध नारा लगाएको अभियोगमा नेपाली काँग्रेस सम्बद्ध कार्यकर्ता पक्राउ परेका छन् । प्युठानमा नेपाली कांग्रेसले सरकारविरुद्ध गरेको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता तुनाराम खत्री र कार्यकर्ता सागर जिएम छन् ।
जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी सुनिल मल्लका अनुसार दुई जनाले अश्लील नारा लगाएको भन्दै ठाडो निवेदन परेपछि नियन्त्रणमा लिइएको थियो । ‘सोधपुछका लागि हो, सोमबारै छाडिसकेको उनले बताए ।
हाल प्रकरणबारे ओली पक्षका नेता, कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच इलाका प्रहरी कार्यालय, ढिंग्रीमा छलफल भइरहेको छ ।
पक्राउ परेका विद्यार्थी नेता खत्री भने अश्लील गाली नगरिएको बताउंछन् । ‘स्वर्गद्वारी नगरपालिकाको–९ बाट प्रदर्शनमा सहभागी हुन सदरमुकाम आएका थियौं, फर्किने क्रममा गाली गलौज गरेको भन्दै उजुरी परेको रहेछ ।
कांग्रेसले देशभर आन्दोलनको कार्यक्रम घोषणा गरे अनुरुप सोमबार सदरमुकाममा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन राखिएको थियो । कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजाल, डा. गोविन्द पोखरेल लगायत सहभागी थिए ।