नेकपा नेत्री रामकुमारी झांक्रीलाई पक्रन प्रहरीलाई दबाब

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झांक्रीलाई पक्रन प्रहरीलाई दबाव परेको छ । प्रधानमन्त्री निवास बालुवाटारले सो दबाव दिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरुको दबावमा गृह–सचिव महेश्वर न्यौपानेले नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाव दिएका छन् ।

आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झांक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुनेगरी बोलेको आरोप छ । गोरखामा आयोजित विरोध कार्यक्रममा झांक्रीले राष्ट्रपतिलाई बडामहारानी भनेकी थिइन् । राष्ट्रपतिको आलोचना गर्दै उनले भनेकी छिन्न्–‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् ।

‘शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झांक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटमै गएपनि हुन्छ ।

उनको सो बोलीबारे राष्ट्रपति भण्डारी असन्तुष्ट छिन् । भण्डारीको असन्तुष्टि मेटाउन झांक्रीलाई पक्राउ गर्न राज्यका संयन्त्र परिचालन गरिएको हो । उनलाई पक्राउ गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक उच्च स्रोतले बताएको छ । ती झांक्रीलाई पक्राउ गर्न गृहसचिव ज्यूले प्रहरी प्रधान कार्यालयलाई लगातार दबाब दिनुभएको बुझिएको छ ।