२७ माघ, काठमाडौं । अस्ति निर्वाचन आयोगले नेकपाका दुबै पक्षलाई चिठी पठाए पछि प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय जांदैछन् ।
नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।
प्रचण्ड(माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली गएका थिएनन् । उनी आज बिहान ११ बजे आयोगको कार्यालय जाने उनको सचिवालय स्रोतले बतायो ।
नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउंदै आएको छ ।
प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन् । साथै उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् ।
संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व ओलीले गरेका छन् भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।
बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड(माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्ड(माधव पक्षका नेताहरुलाई हटाउंदै संगठन पुनर्गठन गर्दै आएको छ ।