Breaking News

कि संसदको पुनर्स्थापना हुन्छ, कि सर्वनाश । यो पक्का हो

काठमाडौं, २४ माघ । झापाको विर्तामोडमा आफ्नो समूहका कार्यकर्तालाई प्रशिक्षण दिँदै नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य तथा भूतपूर्व कृषि मन्त्री घनश्याम भुसालले प्रतिनिधि सभा पुनर्स्थापना नभए सर्वनाश हुने बताएका छन् ।

उनले देश सर्वनाश हुन्छ कि ओली वा आफ्नो समूह सर्वनाश हुन्छ त्यो भने खुलाएनन् ।

नेता भुसालले यतिमात्र भने, ‘प्रधानमन्त्री ओलीको कदमपछि अब अरू कुनै उपाय छैन, कि संसदको पुनर्स्थापना हुन्छ, कि सर्वनाश । यो पक्का हो ।’

फागुन दोस्रो सातादेखि देशमा डरलाग्दो राजनीतिक संकट आउने उनले चेतावनी दिए ।

उनले भने, ‘अबको विकल्प कि प्रतिनिधि सभा पुनर्स्थापना कि सर्वनाश ।’

अबको तीन सातामा संसद पुनर्स्थापना नभए देश बर्बादीतर्फ अघि बढ्ने उनले चेतावनी दिए ।

उनले भने, ‘त्यसलाई जोगाउन आम नेपाली एक ठाउँमा उभिनुको विकल्प छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिविधिका कारण मुलुक राजनीतिक संकटमा पुग्न लागेको दाबी गरे ।

प्रधानमन्त्री केपी ओलीले विघटन गरेको संसद पुनर्स्थापनाको मुद्दा सहजै जितिनेमा नेता भुसाल विश्वस्त थिए ।

उनले यतिसम्म भने कि ‘यो मुद्दा जितिएन भने सर्वनाश हुन्छ । त्यसैले संसद पुनर्स्थापनाको मुद्दा कुनै पनि हालतमा जित्नै पर्छ । फेरि पनि दोहो¥याउँदै उनले भने, ‘सर्वनाश हुन दिनु हुँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले जे भन्यो प्रचण्डले त्यही मानिदिँदा वर्तमान परिस्थिति आएको उनको आरोप थियो ।

स्थायी कमिटी सदस्य तथा भूतपूर्व कृषि मन्त्री, घनश्याम भुसाल