Breaking News

तत्काल केन्द्रीय कमिटी बैठक बोलाउनु होस्

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् ।

संसद छलेर ल्याइएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र सोही अध्याादेशबमोजिम संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्तिका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्नुपर्ने पौडेलको भनाइ छ ।

’देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो। यस्तो अवस्थामा नेपाली कांग्रेसजस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ,’ पौडेलले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ’मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।

संवैधानिक निकायमा भएका नियुक्तिको कांग्रेसले विरोध गर्दै आएको छ। तर कांग्रेस सभापति शेरबहादुर देउवाले भने यसको कडा विरोध गरेका छैनन् । देउवा निकट पूर्वडिआइजी जयबहादुर चन्दलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्ति गरिएकाले यसमा देउवाको समर्थन रहेको कतिपयको बुझाइ छ ।

देउवाको सचिवालयले भने संवैधानिक निकायमा सिफारिसका लागि आफूहरूले कुनै नाम नदिएको दाबी गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पुस ७ गतेदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठक माघ १३ गते सकिएको थियो ।

वरिष्ठ नेता , रामचन्द्र पौडेल