Breaking News

पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने नेकपा प्रचण्डमाधव केन्द्रीय कमिटीको निर्णय

१२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो भने ओली पक्षले केन्द्रीय कमिटी विस्तार गरेको थियो । दुवै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।

तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै पक्षका दाबी अस्वीकार गर्ने निर्णय ग¥यो । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ केन्द्रीय सदस्य तथा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षलाई मान्यता दियो ।

त्यसपछि २५ प्रतिशत केन्द्रीय सदस्यको मागअनुसार बैठक बसेको र ४४१ को दुई तिहाइ सहभागी भएको प्रचण्ड माधव समूहको दाबी छ । बैठकले त्यसको लिखित जवाफसहित आयोगमा जाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

उनले भने, ‘कहिले जाने भन्ने निर्वाचन आयोगको जिम्मा दिइएका साथीहरुले निर्णय गर्नुहुन्छ ।

केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै र विष्णु पौडेललाई महासचिवबाट समेत हटाउने स्थायी कमिटीको निर्णय पनि अनुमोदन गरेको छ ।