१५ माघ, काठमाण्डौ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ ।
अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन भनिएको छ । भोलि शुक्रबार बिहान साढे ११ बजे छलफल हुन्छ ।’ नेकपाका दुबै समूहबाट छलफलमा पाँच–पाँच जना पठाउन आयोगले भनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी दुई वटा समूह क्रियाशील छ । यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको थिएन ।
शुक्रबार नेकपाका दुई समूहसँग आयोगले मुख्य गरी दुइटा विषयमाथि छलफल गर्ने तयारी गरेको छ ।
‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचन तय गरेका छन् । तर प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।