एक नेपाली नर्सको अमेरिकाबाट कोरोना लाग्दैमा मरिदैन

चैत्र १८,अमेरिका टेक्सस। अहिले कोरोना भाइरस (कोभिड १९) ले विश्वभर सबैको मनमा त्रास फैलाएको छ । म अमेरिकाको टेक्ससस्थित एउटा अस्पतालमा रजिस्टर्ड नर्सका रुपमा काम गरिरहेकी छु । हाम्रो युनिटमा आएका एकरदुईजना बाहेक अरु सबै निको भएर घर फर्केका छन् । अवस्था नाजुक भयो भने अरुलाई इन्टेनसिभ केयर युनिटमा पठाइन्छ । हाम्रो युनिटमा आउने कोभिड बिमारीलाई इमर्जेन्सी रुमबाट पहिले टेष्ट गरेर मास्क लगाएर सिधै आइसोलेसन रुममा पठाइन्छ । यहांका अस्पतालमा प्रत्येक बिरामीको छुट्टै रुम हुन्छ । कोभिड १९ बिरामीलाई ड्रप्लेट आइसोलेसनमा राखिन्छ ।

बिरामीको रुमभित्र जांदा आइसोलेसन गाउन, मास्क, ग्लोब्स र आंखामा गगल्स लगाएर मात्र भित्र छिर्नुपर्छ । जसलाई पर्सनल प्रोटेक्टिभ इक्वयुपमेन्ट पीपीई भनिन्छ । रोगको किटाणुबाट बच्नका लागि पीपीई लगाउने र खोल्ने छुट्टै विधि हुन्छ ।
बिरामी अस्पतालमा आउंदा सिधै इमर्जेन्सी रुममा लगिदैन । पहिले छुट्टै रुममा राखेर जांच गरिन्छ र कोभिड १९ को शंका लाग्यो भने त्यहीं टेष्टका लागि स्याम्पल (नमुना) लिइन्छ । अनि बिरामीलाई छुट्टै रुमबाट युनिटमा लगिन्छ ।
बिरामीको अरु मेडिकल अवस्था ठीक छ र स्थिर छ भने टेष्ट गरेर घरमै क्वारेन्टाइनमा बस्न पठाइन्छ इमर्जेन्सी रुमबाटै । अहिले यहां झन् धेरै बिरामी बढ्न थालेका छन् ।
हामी मेडिकल स्टाफ भएपछि रोगदेखि डराएर भाग्ने कुरा हुंदैन । अस्पतालमा सबै कर्मचारीहरुमा डर र नैराश्य देखिन्छ । तैपनि बिरामीको सेवा गर्नु हाम्रो कर्तव्य हो । र, मलाई लाग्छ, यही नै हाम्रो धर्म हो ।
बिरामीहरु पनि हामीमा निर्भर हुन्छन् । त्यसैले, हामीले हरेश नखाई निडर भएर काम गर्नुपर्ने हुन्छ । हामी हाम्रो सिफ्ट शुरु हनुअघि जहिल्यै प्रार्थना गर्ने गर्छौ । यो चलन हाम्रो युनिटमा पहिल्यैदेखि
थियो ।
अस्पतालमा काम गर्नेहरु १२ घण्टाको काम सकेर घर पर्केपछि सबै स्टाफले काममा लगाएको लुगा ग्यारेजमै खोलेर वासिङ मेशिनमा हालेर साबुनपानीले पूरा शरीर नुहाएपछि मात्र घरमा अरु परिवारका सदस्यलाई छुने गरिन्छ । सकभर घरमा पनि हामी एक–अर्काबाट ६ फिट टाढै बस्ने कोशिस गर्छौ ।
रोगका बारेमा धेरै सोचेर टेन्सन लिनु वा आत्तिनु भन्दा पनि आफ्नो सरसफाइमा ख्याल गर्नु राम्रो हुन्छ । जस्तै, पटक–पटक साबुन पानीले हात धुनु, दिनैपिच्छे नुहाउनु इत्यादि । यसका साथसाथै खाने कुरा र दिनर्चयामा पनि उत्तिकै ख्याल राख्नु जरुरी छ ।
बजारमा किनेर रेडिमेड तयार पारिएका खानेकुरा खानुभन्दा घरमै आफैँले बनाएर खानु राम्रो हुन्छ । सुगरको मात्रा कम गर्नाले र बिहानको व्यायाम गर्नाले हाम्रो इम्युनिटी पावर बढ्नमा धेरै मद्दत गर्छ । यी माथिका कुरामा ध्यान दिइयो भने कोभिड १९ बाट र अन्य रोगबाट पनि सजिलै बच्न सकिन्छ ।
विश्वभर कोरोना महामारीका रुपमा फैलिएको छ । त्यसैले सबैलाई यसको डर र त्रास छ । काम गर्नेहरु परिवारको बारेमा लिएर चिन्तित हुन्छन् । अस्पतालमा काम गरिन्छ, यता घरमा अरुलाई सार्ने हो कि भन्ने त्रास हुन्छ सबैलाई ।
मानिसहरु अरु काम नपरेसम्म घरमै बस्छन् । अत्यावश्यक काम पर्नेहरु मात्र काममा जान्छन् । विद्यार्थीहरु घरमै बसेर अनलाइन क्लास लिन्छन् । यहांको सरकारले पनि कोरोना रोकथामका लागि सक्दो प्रयास गरिरहेको छ । अहिले विश्वभर कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यसलाई रोक्ने उपाय भनेकै आफू सजग हुनु हो ।
घरमा बस्ने, सुरक्षित रहने, खानेकुरामा ध्यान दिने, साबुनपानीले हात धुनेजस्ता सहजै गर्न सकिने काम गरे कोरोनाले असर गर्दैन ।
कोभिड १९ भयो भन्दैमा डराइहाल्नुपर्ने केही छैन । यसबाट बच्न सजगता भने अपनाउनुपर्छ । यो रोग साना ठूला जसलाई पनि लाग्न सक्छ । तर, बढी जोखिम भनेको पहिल्यै रोग लागेकालाई हुन्छ । कसैलाई अरु रोग छ र कसैको इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता कम छ भने कोभिड १९ ले छिटै आक्रमण गर्न सक्छ ।
तर, यो रोग लाग्यो भन्दैमा मरिहालिने होइन