कोरोना बिरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगाउनु होस्

१४ माघ, काठमाडौं । आज बुधबारबाट नेपालमा पनि कोरोना विबरुद्धको खोप लगाइएको छ । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।

पहिलो पटक खोप लगाएका टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी, डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाए । उनीहरुले खोप लगाउँदा आफूहरुलाई केही नभएको भन्दै यो सुरक्षित रहेको बताए । उनीहरुले सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरे ।

भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिशिल्ड खोप नेपालमा लगाइएको हो । खोपका केही साइड इफेक्ट पनि हुन सक्ने समाचारहरु सार्वजनिक भइरहेका बेला चिकित्सकहरुले खोप सुरक्षित भएको बताएका हुन् ।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।