प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत् जवाफदेही बनाउन भन्दै ध्यानाकर्षण

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल वार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले आपत्ती जनाएका छन् ।

आज आइतबार संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको बताएका छन् ।

विज्ञाप्ती निकाल्ने वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर भनेका छन्, ‘यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत् उहाँलाई जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।

संसद पुनःस्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई लिएर तमासा गर्न गएछन्’ भनेर शब्द बोलेका थिए ।