प्रधानमन्त्री ले तीनै घरमा आगो लगाइदिनुभयो यसका विरुद्ध सडकमा जनता उत्रनु पर्ने बेला आयो

मानव अधिकारकर्मी, कृष्ण पहाडी

७ माघ, सुर्खेत । प्रधानमन्त्रीले गएको पुस ५ गते प्रतिनिधिसभाको बिघठन गरेपछि त्यसको विरुद्धमा काठमाण्डौमा मानवअधिकार कर्मीहरुले दिनहुँ बिरोध गरिहेको बेला मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाले आयोजना गरेको प्रतिगमन विरुद्धको नागरिक सभालाई आज सुर्खेतमा सम्बोधन गर्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओली ‘स्टालिन शैली’ का नेता रहेको टिप्पणी गरेका छन् । साथै प्रधानमन्त्रीले सत्ता नै अन्तिम सत्य ठानेर काम गरेको आरोप समेत लगाएका छन् ।

पहाडीले प्रधानमन्त्री ओलीको सनकका भरमा संविधानको हत्या भएको टिप्पणी समेत गरे । ‘अहिले हाम्रो घरमा आगो लागेको छ, प्रतिनिधिसभा विघटन प्रतिगामी छ’, पहाडीले भने । प्रधानमन्त्री ओलीकै कारण मुलुक गृहयुद्धमा जाने र देश सैनिकीकरण हुने खतरा रहेको भन्दै उनले हरेक सचेत नागरिकले प्रतिगामी कदमको विरोध गर्नैपर्ने जिकिर गरे ।
‘नेपालमा एउटा भनाइ छ, चोरले समेत तीन घर छाडेर चोर्छ तर उहाँ (प्रधानमन्त्री)ले तीनै घरमा आगो लगाइदिनुभयो’, उनले भने । उनका अनुसार प्रधानमन्त्रीले आगो लगाएका ती तीन घर भनेको पार्टी, संसद र संविधान हो । यी तीनै ठाउँमा प्रधानमन्त्रीको सनककै कारण आगो लागेकाले यसका विरुद्ध सडकमा जनता उत्रनु पर्ने उनको भनाइ छ ।

संविधानसभाका अध्यक्षसमेत रहेका सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको ‘सेनापति’ को भूमिका निर्वाह गरेको आरोपसमेत पहाडीले लगाए । प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैन भनेर बारम्बार भन्ने गरेका नेम्वाङले अहिले आफ्नो बोली फेरेको उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटका सम्बन्धमा निर्णय आउन जति ढिला हुँदै जान्छ, उति नै ओलीका असंवैधानिक काम बढ्दै जाने पहाडीले बताए । संविधानलाई जीवित राख्नका लागि पनि प्रतिनिधिसभा बौरिनुपर्ने बताउँदै उनले ओलीको पछिल्लो कदमकै कारण विदेशीले थप चलखेल गर्ने अवसर पाएको बताए ।

समृद्धिको नारा दिने ओलीको पालामा राजा ज्ञानेन्द्र शाहको पालामा भन्दा पनि धेरै पटक मानव अधिकारीकर्मीहरु पक्राउ परेको पहाडीको दावी छ । प्रेसमा नियन्त्रण, फोन ट्यापिङ आदिसम्बन्धी अध्यादेश ल्याएर ओली सरकारले जनतालाई थप पीडा दिने काम गरेको पनि उनले बताए । ओलीको अतिवाद विरुद्ध लड्नैपर्ने बताउँदै उनले यो लडाइँमा कति समय लाग्ने भन्ने यकिन नभए पनि लड्नुको विकल्प नभएकाले सबै एकजुट भएर लड्नुपर्ने औंल्याए ।
कार्यक्रममा शान्ति समाजका सभापति उत्तम पुडासैनीले संविधानमा रहेका कमी कमजोरी सच्याउन सकिने भए पनि त्यतातिर नलागेर प्रधानमन्त्री ओलीले संविधान फेल गराउने काम गरेको आरोप
लगाए ।

समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले प्रधानमन्त्री ओली तत्कालीन राजा ज्ञानेन्द्रकै पथमा हिँडेको आरोप लगाउँदै जनताले ज्ञानेन्द्रलाई जसरी नै ओलीलाई पनि निष्तेज गर्ने बताए । ओलीले दुई तिहाई बहुमत र ५० लाख लोकप्रिय मत जसरी पनि ल्याउने घोषणा गरेका कारण निर्वाचन निष्पक्ष नहुने उनको दावी छ ।