मेसीलाई बार्सिलोना करियरमै पहिलो पटक रातो कार्ड

स्पानिस सुपर कप फुटबलको उपाधि एथ्लेटिक बिल्बाओलाई

५ माघ, काठमाडौं । स्पानिस सुपर कप फुटबलको उपाधि एथ्लेटिक बिल्बाओ को पोल्टामा । हिजो राती भएको खेलमा विश्व च्याम्पियन खेलाडी मेसी रहेको टिम बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले सो फुटबल कपको उपाधि जितेको हो ।

हिजो आइतबार राति भएको फाइनलमा दश खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३(२ ले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।

बिल्बाओका लागस ओस्कार डे मार्कोस, असियर भिलालिब्रे र एनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रिजमनले गरे ।

बिल्बाओले दुई पटक पछि परेर पनि उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो ।

निर्धारित समयको खेल २(२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।
कप्तान लिओनल मेसीले अतिरिक्त समयको अन्तिम मिनेटमा रातो कार्ड पाएका थिए । भिलालिब्रालाई फाउल गरेपछि मेसीले रातो कार्ड पाएका थिए । मेसीले बार्सिलोना करियरमै पहिलो पटक रातो कार्ड सामना गरेका हुन् ।

खेलमा अग्रता भने ग्रिजमनको गोलबाट बार्सिलोनाले ४० औं मिनेटमा लिएको थियो । तर ४२ औं मिनेटमा बिल्बाओका ओस्कार डमार्कोसले बराबरी गोल फर्काए ।

७७औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २(१ को अग्रता दिलाए । तर ९० औं मिनेटमा बिल्बाओका लागि भिलालिब्राले बराबरी गोल फर्काए ।

अतिरिक्त समयको चौथो मिनेटमै इनाकीले गरेको गोल बिल्बाओको जितमा निर्णायक बन्दा बार्सा उपाधिबाट आउट भयो भने बिल्बाओ उपाधि चुम्न सफल भयो ।