२ माघ, सुर्खेत । जिल्ला कारागार सुर्खेतमा क्षमता भन्दा झण्डै तीन गुणा बढी कैदीबन्दी राखिएका कारण विभिन्न समस्या उत्पन्न भएको छ ।
१०० क्षमता रहेको सुर्खेत कारागारमा अहिले २९५ जना कैदीबन्दीहरु राखिएका छन् । क्षमता भन्दा झण्डे तीन गुणा बढी कैदीबन्दी राख्दा आधारभूत मानवीय आवश्यकता समेत परिपूर्ति गर्न समस्या भएको कारागार प्रशासनले जानकाएको छ । तीन गुणा बढी कैदीबन्दी राख्नुपर्दा थुप्रै समस्या व्यहोर्नु परेको कारागार कार्यालयका जेलर लक्ष्मी खरेलले बताइन् ।
५० जना क्षमता रहेको कारागारलाई वैशाखबाट यसको क्षमता १०० पु¥याएका छौं । क्षमता भन्दा धेरै कैदी बन्दी हुँदा सुत्ने ठाउँ, शौचालय र पानीमा समेत समस्या हुने गरेको छ,’ जेलर खरेलले भनिन्, ‘अर्को नयाँ भवन निर्माणाधीन
छ । यो भवन बन्यो भने, व्यवस्थापनमा थप सहज हुने विश्वास लिएका छौं ।
हाल सुर्खेत कारागारमा १७४ जना कैदी छन् भने १११ जना थुनुवा रहेका छन् । त्यसमा २८ जना महिला कैदीबन्दी छन् भने २६७ जना पुरुष कैदी रहेका छन् । तीनजना आश्रित बालबालिका समेत रहेको कारागारले जनाएको छ ।
कारागार सुर्खेतका अनुसार जबरजस्ती करनीको मुद्दाका ५२ जना कैदीहरु छन् भने जबरजस्ती करनीकै मुद्दामा ३५ जना थुनुवा छन् । जबरजस्ती करनीपछि कारागारमा कर्तव्य ज्यान मुद्दाका कैदी छन् ।
कर्तव्य ज्यान मुद्दाका कैदी तथा थुनुवा गरी कारागारमा ६२ बन्दी छन् । कर्तव्य ज्यानमा थुनुवा १० पुरुष र ४३ कैदीसहित ५३ पुरुष छन् भने ९ जना महिला कर्तव्य ज्यान मुद्दाका छन् । त्यसै गरी लागूऔषधमा ५५, बहुविवाह २४ जना कैदी तथा थुनुवा रहेका छन् ।
कारागारमा सार्वजनिक अपराध, चोरी, ठगी, सवारी ज्यान लगाएतका मुद्दामा थुनुवा र कैदी रहेको कारागारले जानकारी दिएको छ ।
क्षमता भन्दा बढी कैदी बन्दी राख्नुपर्दा शौचालयको समेत समस्या भएको कार्यालयले बताएको छ ।