डा. केसीद्धारा काठमाडौं विश्वविद्यालय (केयू) को पदाधिकारीमा सक्षम र नैतिकवान व्यक्तिको नियुक्त गर्न माग

१ माघ, काठमाण्डौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज विज्ञप्ति जारी गर्दै काठमाडौं विश्वविद्यालय (केयू) को पदाधिकारीमा सक्षम र नैतिकवान व्यक्तिको नियुक्त गर्न माग गरेका छन् । विज्ञप्तीमा केसीले केयूको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्ने बताएका छन् ।

हाल केयूको उपकुलपति नियुक्तिका लागि सर्च कमिटीले प्रक्रिया अघि बढाएको र ३५ जना भन्दा धेरैले आवेदन दिएका छन् । केसीले विज्ञहरुबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मुल्यांकन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गर्न माग गरेका
छन् ।

मेडिकल शिक्षा नियमनमा गत वर्षहरुमा देखिएको चरम अनियमितता र बेथितिको केन्द्रमा काठमाडौं विश्वविद्यालयका निवर्तमान पदाधिकारीहरु रहेको भन्दै उनले देशका आधाभन्दा बढी निजी मेडिकल कलेज केयू अन्तर्गत रहेको र पदाधिकारीहरु ती मेडिकल कलेजका सञ्चालकहरुको स्वार्थ र इशारामा चल्ने गरेको आरोप लगाएका छन् ।

‘कतिसम्म भने निजी कलेजहरुलाई नेपाल सरकार मन्त्रिपरिषद्ले एमबीबीएस कार्यक्रमका लागि तोकेकोभन्दा बढी शुल्क लिन दिने गरी अवैध निर्णयहरु समेत भएका छन्’ केसीले भनेका छन् । उनले आफ्नो पछिल्लो सत्याग्रहमा भएका सम्झौतासमेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्ति नियुक्त गर्न माग गरेका छन् ।