विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली चीन पुग्यो

एजेन्सी

१ माघ, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली चीन पुगेको छ ।

कोरोना भाइरस महामारीको उत्पत्तीबारे अनुसन्धान गर्न डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले जनाएको छ । लामो समयदेखि डब्लुएचओ र बेइजिङबिचको वार्तापछि अनुसन्धानकर्ताको टोली चीन पुगेको हो ।

१० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिनेछन् । सिजिटिएनका अनुसार उक्त टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भेयतनामका विज्ञहरू सहभागी छन् ।

कोरोनाभाइरसको संक्रमण पहिलो पटक सन् २०१९मा चीनको वुहानमा भेटिएको थियो। अहिले भने वुहान सहर सामान्य अवस्थामा फर्किसकेको छ ।

अनुसन्धान बढाउनुअघि डब्लुएचओको टोली दुई हप्ता क्वारेन्टिनमा बस्नेछन् ।

यसअघि चीनले डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको जनाउँदै प्रवेशमा रोक लगाएको थियो । चीनका लागि उडिसकेका दुई जना सदस्यहरूमध्ये एक जना फर्किएका थिए । अर्का भने ट्रान्जिटमै अड्किएका थिए ।

बेइजिङले यस घटनालाई गलत प्रभाव भएको बताएको थियो । बेइजिङले कोरोनाको महामारी चीनबाट सुरू नभएको जनाउँदै आएको छ ।

डब्लुएचओका प्रोफेसर डेल फिसरले यो अध्ययन कुनै राजनीति वा आरोप लगाउन नभई वैज्ञानिक प्रश्नको गहिराइमा पुग्न भएको बताए । सो भाइरसलाई कतिपय वैज्ञानिकहरूले प्राकृतिक घटना भएको उनले बताए ।

आठ महिनापछि बिहीबार चीनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । चीनले ठूलो संख्यामा परीक्षण, कडा लकडाउन र कडा भ्रमण नियमहरू लागू गरी यस महामारीलाई नियन्त्रणमा लिएको थियो ।

तर, केही हप्तायता विशेषगरी उत्तरी हिबेई प्रान्त र उत्तरपूर्वी क्षेत्रको हेइलोङझ्याङ प्रान्तमा नयाँ संक्रमणहरू देखा पर्न थालेका छन् ।