ओइ सरकार सुन्, निरकुंश होस् तँ

२८ पुस, काठमाण्डौ । प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले निरन्तर प्रदर्शन गरिरहेको
छ । आधा दर्जनभन्दा बढी प्रतिगमन विरोधी प्रदर्शन गरिसकेको नागरिक समाजले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पहिलो नागरिक सभा गरेको छ ।

नागरिक अभियन्ताहरूको साझा आह्वानमा कलाकार, लेखक तथा सर्वसाधारण जम्मा भएर डबलीमा विरोध कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रतिगमनविरुद्ध युवतीहरूको ‘फ्ल्यास मोब’ गरेका छन् । उनीहरूले उभिएर ‘ओइ सरकार सुन्, निरकुंश होस् तँ’ भन्दै नारासमेत लगाएका थिए ।

‘पोलिटिकल लिट्रेसी फर वोमेन’का सदस्य रहेका किशोरीहरूले फरक शैलीमा गरेको विरोधले सबैको ध्यान खिच्यो ।

ओइ सरकार
सुन, सुन, सुन !
कान खोलेर सुन
समृद्धिको बाजामा
प्रतिगामी धुन ।
भ्रष्टाचार गरिस् तैंले ।
न्याय मारिस् तैंले
गरिस् हाम्रो अपमान
ओइ सरकार सुन
जनताको आवाज सुन !

सभालाई नेपाल बार एशोसियसनका अध्यक्षर चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापा, अभियन्ता सिएन थारु, अपांगता समूहका प्रतिनिधि भोजराज श्रेष्ठ, युग पाठक लगायतले सम्बोधन गरे । सभालाई जनकवि दुर्गालाल श्रेष्ठले भिडियोबाटै आफ्नो कविता पढेर सुनाए ।

डबलीमा नागरिक तहबाट सभा भइरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू पनि कार्यक्रम भएको नदेखेझैं गरी हिँडेका थिए । अधिकांश प्रगतिशील साहित्यकार तथा विद्वान रहेको प्रज्ञा प्रतिष्ठान नेतृत्व भने सरकारी कदममाथि केही बोल्न नमिल्ने भन्दै मौन बसेको हो ।

नागरिक सभामा बोल्दै नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधान कुल्चेर काम गर्ने अधिकार कसैलाई नभएको बताउँदै प्रधानमन्त्रीले त्यो हद पार गरेको बताए । उनले भने, ‘संविधानलाई घात नहोस् भनेर नागरिकले भनिरहँदा प्रधानमन्त्रीले न्यायालयलाई नै व्यंग्य गरेका छन् । हामी नागरिकले यसविरुद्ध बोल्नैपर्छ ।’

अध्यक्ष श्रेष्ठले फिलिंगोजस्तो भएर उठेको नागरिक आन्दोलनले भोलि आगोको रुप लिने विश्वास व्यक्त गरे ।

पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापा मगरले नेपाल पत्रकार महासंघको जन्म नै प्रतिगमन विरुद्ध लड्ने क्रममा भएको स्मरण गर्दै ओली सरकारले स्वतन्त्र प्रेसमाथि समेत निरन्तर प्रहार गरेको बताए । थापाले मञ्चबाटै आफूले प्रतिमगन मुर्दावाद ! भन्दै सहभागीहरूलाई पनि मुर्दावाद भन्न लगाए ।

आदिवासी जनजाति समाजका अभियन्ता डा. मुक्तसिंह तामाङले संसद विघटनको घटना प्रतिगमनको सिलसिला मात्रै भएको संज्ञा दिए । तामाङले भने, ‘हामीले केपी ओलीजस्ता व्यक्तिको उदयमा दलहरूको पनि दोष देख्न सक्नुपर्छ । ओली प्रवृत्ति बन्ने प्रक्रिया पनि बुझ्नुपर्छ ।’

अभियन्ता सिएन थारुले सार्वभौमितामाथि धोका हुँदा नागरिक अभियन्ताको ठूलो भूमिका हुने बताए । थारुले भने, ‘नागरिक आन्दोलनले नै प्रतिगमनलाई परास्त गर्न सक्नेछ । यसैले हामी थाक्नु हुँदैन । आवाज सानो बनाउनु हुँदैन ।’

उनले आदिवासी जनजातिको हकअधिकार दिनप्रतिदिन खुम्चिँदै गएकोमा आपत्ति जनाए । यता अपांगता नागरिक समूहका प्रतिनिधि भोजराज श्रेष्ठले कुनै हालतमा ओलीको कदम सफल हुन नदिने बताए । उनले राणा शासन, पूर्वराजा ज्ञानेन्द्रको शासनझैं ओलीको शासन पनि सहजै ढल्ने संकेत गर्दै अपांगता भएका नागरिकसमेत जुर्मराएर उठ्ने उद्घोष गरे ।

सभालाई कलाकार तथा कार्टुनिस्ट रवि मिश्र, रसिक राज र रविन्द्र श्रेष्ठले ताजा पेन्टिङसहित साथ दिए । उनीहरूले संविधानमाथिको प्रहार भएको बिम्ब खडा गर्दै सांकेतिक विद्रोह गरे । नाट्यकर्मी घिमिरे युवराजको संयोजनमा छोटो डबली–नाटक पनि देखाइयो । नाटकमा प्रतिगमनले कसरी आक्रमण गर्छ भन्ने विषयलाई केन्द्र बनाएर विरोध गरियो ।

यस्तै जनकवि दुर्गालाल श्रेष्ठले भिडियोमार्फत् पठाएको कविताले पनि सरकारी कदमको तीव्र कटाक्ष गरेको थियो । निक्रै जोशका साथ कविता पढेका ८४ वर्षीय कवि श्रेष्ठले भने–

नकचरोसँग बरु होला
अलिकति भएपनि लाज चरम
तिम्रै कारण साम्यवाद
आउन्न अब जनमजनम् ।

कार्यक्रममा नागरिक सभाको तर्फबाट अभियन्ता युग पाठकले निरन्तर लडिरहेने प्रतिबद्धता जनाए । माइतीघरको आन्दोलनदेखि नागरिक अभियन्ताहरूलाई संयोजन गरिरहेका पाठकले भने, ‘हामी अदालतको निर्णयलाई पनि कुरिरहेका छौं । साथै नागरिक तहबाट नागरिकै अधिकार बचाउन लडिरहने छौं ।
अनलाइनबरबाट