राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले फेरि हिंसा फैलाउन सक्ने चेतावनी

एजेन्सी

२८ पुस, काठमाण्डौ । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई)ले राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले फेरि हिंसा फैलाउन सक्ने चेतावनी दिएको छ ।

जनवरी २० मा हुने जो बाइडेनको सपथअघि वासिङ्टन र ५० राज्यकै ठूला सहरमा ट्रम्प समर्थकले प्रदर्शन गर्न लागेको र ती प्रदर्शनले हिंसा भड्किन सक्ने एफबिआईको चेतावनी छ ।

एफबिआईको रिपोर्ट उद्धृत गर्दै अमेरिकी टेलिभिजन एबिसीले एक हतियारधारी समूहले ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन खोजे आफूहरू वासिङ्टनमा विद्रोह गर्न जाने बताएको उल्लेख गरेको छ ।

यसैबीच अमेरिकी रक्षा मन्त्रालयले बाइडेनको सपथका लागि १५ हजार नेशनल गार्ड खटाउन स्वीकृति दिएको छ । अघिल्लो साता ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेपछि अहिले ६ हजार २०० नेशनल गार्ड वासिङ्टनमा खटाइएको छ । १० हजार जनालाई आउने साता खटाइने छ भने थप ५ हजारलाई पनि तयारी हालतमा राखिने पेन्टागनले जनाएको छ ।

अमेरिकाको नेशनल पार्क सर्भिसले वासिङ्टन स्मारक जनवरी २४ सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

उता अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिन्टेटिभमा डेमोक्र्याट सांसदहरूले ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

गत साता ट्रम्पको उक्साहटमा उनका समर्थकले संसद भवनमा हिंसा फैलाएपछि ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याइएको हो । राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको प्रमाणित गर्न संसद बैठक बसेका बेला भएको उक्त हिंसामा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति ट्रम्पबाट राष्ट्रलाई अझै खतरा रहेको भन्दै उनलाई महाअभियोग लगाउन लागिएको हो । ट्रम्पको कार्यकाल सकिन अब ९ दिनमात्र बाँकी छ ।

हाउस अफ रिप्रिन्जेन्टेटिभमा बहुमतका नेता स्टेनी होयरले दुई दिनमा ट्रम्पले राजीनामा दिएनन् वा उनलाई उपराष्ट्रपति माइक पेन्सले हटाएनन् भने बुधबार महाअभियोग प्रस्तावमा मतदान हुने बताए ।

तल्लो सदनबाट महाअभियोग पारित भए अमेरिकाको इतिहासमै दुई पटक महाअभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति हुने छन् ।

तल्लो सदनमा डेमोक्र्याटहरूको बहुमत भएकाले महाअभियोग सजिलै पारित हुनेछ । माथिल्लो सदन सिनेटमा पनि उपराष्ट्रपति कमला ह्यारिसले भोट हालेर डेमोक्र्याटको प्रस्ताव पारित गर्न सक्छिन् ।

सिनेटको महाअभियोग प्रक्रिया पूरा हुने बेलासम्म ट्रम्पको कार्यकाल सकिइसकेको हुन सक्छ । सिनेटबाट पनि महाअभियोग पारित भयो भने ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा भने उम्मेदवारी दिन पाउने छैनन् ।

यसअघि गत वर्ष पुसमा ट्रम्पविरूद्ध पहिलो पटक महाअभियोग प्रस्ताव ल्याइएको थियो। तल्लो सदनबाट पारित भए पनि सिनेटमा रिपब्लिकनहरूको बहुमत भएकाले उनले सफाइ पाएका थिए ।