प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ जारी

२२ पुस, काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ जारी रहेको छ ।

सुनुवाइका लागि सबै न्यायाधीशहरू इजलासमा उपस्थित भइसकेका छन् ।

प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेका छन् ।

राणाले गठन गरेको इजलासमा यसअघि पुस १० गतेको इजलासमै भएका न्यायाधीशहरू छन् ।

संवैधानिक इजलासको रोष्टरमा भएका १४ जनामध्ये प्रधानन्यायाधीश राणाले न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई इजलासका लागि छानेका छन् ।

धेरै मानिसहरू इजलासमा बहस सुन्न जाँदा ठाउँ नपुग्ने भएपछि सर्वोच्चले इजलास बाहिरबाट पनि बहस सुन्ने र हेर्ने व्यवस्था मिलाएको छ ।

सर्वोच्चका अनुसार अदालत परिसरको प्रतीक्षालयमा माइक जोडेर बहस सुन्ने व्यवस्था मिलाइएको छ भने नेपाल बार एसोसिएसन भित्रको हलमा इजलासको भिडिओ पनि लाइभ गरिएको छ ।

इजलासमा धेरै मानिस जाँदा भीडभाड हुने भएकाले यस्तो व्यवस्था गरिएको सर्वोच्चले जनाएको छ ।