Breaking News

कार्यालयको रेर्कटमा नभएको भन्दै हजारौं संख्यामा पुराना लाइसेन्स को नबिकरण बन्द

२१ पुस, काठमाण्डौ । किशोरप्रसाद पौडेलले २५ वर्षअघि लिएको सवारी चालक अनुमति पत्र पटक(पटक नवीकरण गरिसके । पछिल्लो पटक उनले ८ कात्तिक २०७७ मा अनुमति पत्र नवीकरण गराए ।

पुनः ५ वर्ष कात्तिकमा नै पुगिसकेको थियो । आफ्नो लाइसेन्सको म्याद सकिए पछि उनी पुस पहिलो साता सवारी चालक यातायात कार्यालय, एकान्तकुना पुगे ।

हरेक ५ वर्षमा सहजै राजव तिरेर नवीकरण गराउँदै आएका पौडेल त्यतिबेला झसंग भए जतिबेला कार्यालयका कर्मचारीले नवीकरण हुन नसक्ने निर्णय सुनाए । सुरुमा त उनलाई विश्वास नै लागेन । तर, कार्यालयले राजस्व तिरेको प्रमाण नभेटिएको भन्दै लाइसेन्स नवीकरण नगर्ने निर्णय सुनायो ।

पौडेलले सधै नवीकरण भइरहेको सुनाउँदै यसपाली पनि नवीकरण गर्नै पर्ने भन्दै कर्मचारीसँग कुरा राखे । तर कर्मचारीले कुरा सुनेनन् । बरु कार्यालय प्रमुखसँग कुरा गर्न भने । ‘मैले ट्रायल पास गरेर लाइसेन्स लिएको हुँ, २५ वर्षसम्म सरासर नवीकरण गर्ने अहिले अहिले यस्तो अडेको थाप्ने ?’ पौडेलको प्रश्न छ ।

उनी यो विषयलाई लिएर पटक पटक एकान्तकुना कार्यालय पुगेका छन् । उनी यहिँ विषयलाई लिएर सवारी चालक अनुमतिपत्र कार्यालय बामगती कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीमात्रै होइन, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट्न मिनभवनसम्म पुगे । उनको समस्या अझै समाधान भएको
छैन ।

उनी कार्यालयका विरुद्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी लिएर जाने सोचमा छन् । महानिर्देशक हमाललाई भेट्न आइतबारमात्रै उनी विभाग पुगेका थिए ।

तर, उनले हमाललाई भेट्न पाएनन् । लाइसेन्स कार्यालय प्रदेश सरकार माताहत गएको र सबै अख्तियार उतै गएकाले आफूलाई नभन्न हामलले आग्रह गरेका छन् ।

उनको एउटा आग्रह छ कि त लाइसेन्स नवीकरण गरिदिनु प¥यो कि त यो लाइसेन्स नक्कली हो भनिदिनु प¥यो । ‘लाइसैनस नक्कली भनेर सरकारले मलाई जेल हालोस् कानून अनुसारको सजाय भोग्न तयार छु’ उनी भन्छन्, ‘अनावश्यक रुपमा दुःख दिनु भएन, निर्णय गर्नुप¥यो ।’ तर उनको समस्या समाधान गर्न कार्यालयले सकेको छैन ।

कार्यालय नै अलमलमा

कार्यालयका अनुसार यसरी दुःख पाउने पौडेल एक्लै भने होइनन् । अरु संयौको संख्यामा यस्तो समस्या लिएर कार्यालय आउने गरेको एकान्तकुना कार्यालय प्रमुख कार्की बताउँछन् । कार्यालय प्मुख कार्कीका अनुसार यस्तो समस्या लिएर आउने ५ सय भन्दा धेरै छन् ।

कतिपय अझै आउन सक्ने उनको अनुमान छ । तर यो समस्या कसरी समाधान गर्ने भन्ने विषयमा आफै अलमलमा रहेको उनी बताउँछन् । अझ कतिपयले त राजस्व तिरेको रसिद नै लिएर आउँदा समेत नवीकरण गर्न नसकिएको कार्कीले सुनाए ।

‘राजस्व तिरेको रसिद पनि ल्याउनु हुन्छ, तर यहाँ रेकर्डमा भेटिँदैन’ उनी भन्छन्, ‘ यहाँ राजस्व तिरेको रेकर्ड पनि भेटिदैन, राजस्व तिरेको नदेखेपछि मैले कसरी नवीकरण गर्नुस् भनेर भन्न सक्छु ?’ यस्ता लाइसेन्स नक्कली भने नभएको उनले बताए ।

कार्यालयका अधिकृतले हस्ताक्षर गरेका यस्ता लाइसेन्स सक्कली नै भएको उनी बताउँछन् । तर, व्यवहारिक रुपले आफूले कुरा बुझेपनि कानूनअनुसार नमिल्ने भएकाले नवीकरण नभएको उनले सुनाए । आफ्नो तहबाट यो समस्या समाधान पनि हुन नसक्ने उनी सुनाउँछन् ।

उनका अनुसार यो समस्या देखिए पछि एकान्तकुना कार्यालयले वागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा पत्राचार समेत गरेको छ ।

कम्तिमा सचिव स्तरको एउटा कार्यदल बनाएर अध्ययन गरी समस्या समाधान गर्न सकिने उनको सुझाव छ । तर, यस विषयमा मन्त्रालयले चासो दिएको छैन ।

धेरै कुरा बुझेर पनि आफैले केही गर्न नसकिने कार्यालय प्रमुख कार्की बताउँछन् । माथिबाटै केहि निर्णय भए सजिलो हुने उनको भनाइ छ ।

अनलाइनखबरबाट