पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

२० पुस, काठमाण्डौ । नेकपा अध्यक्ष प्रचण्ड आफ्नी पत्नी सीता दाहालको उपचारका लागि आज भारत जाने भएका छन् ।
प्राप्त स्रोतका अनुसार प्रचण्ड सीताको उपचारका लागि भारतको मुम्बई जान लागेका हुन् । काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले उनी नयाँदिल्ली भएर मुम्बई जान लागेका हुन् ।

यसअघि आइतबारको स्थायी कमिटी बैठकमा प्रचण्डले आफ्नी पत्नीलाई थप उपचारका लागि भारत लैजानु पर्ने भएको जानकारी दिएका
थिए ।

सुरूमा प्रचण्डले पत्नीको उपचारमा छोरीहरूलाई मात्र पठाउन खोजेको भए पनि सीताले प्रचण्डलाई पनि जान आग्रह गरेकाले उनी जान लागेको स्रोतले बतायो।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।