Breaking News

जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरे

१९ पुस, जनकपुरधाम । पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई जनकपुरधाममा उद्घघाटन गर्दै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका छन् । जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरेको यादवले बताए ।

अध्यक्ष यादवले ओलीलाई पुराणमा जसरी भष्मासुरले बर लिएर भगवान शिवलाई नै भष्म गर्न खोजे जस्तै ओलीले जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोजेको बताए ।

संविधानमार्फत् जनताले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा र संविधानमा रहेका त्रुटिलाई सच्चयाउनुपर्नेमा भएका अधिकारलाई नै डुबाउने गरी ओलीले काम गरेको उनले आरोप लगाए ।

ओली माक्सवादी, साम्यवादी पनि नभएको उल्लेख गर्दै अध्यक्ष यादवले उनको कार्यशैली महेन्द्रवादी, नश्लवादी र निरंकुशवादी रहेको बताए ।

उनले संसद विघटन गरेको ओलीको मनसाय नै लोकतन्त्र, गणतन्त्र, संघीयता, मौलिक अधिकार समाप्त गरी सर्वसत्तावाद शाषणतर्फ लग्ने रहेको बताए । ‘ओलीले चुनाव गराउँदैनन्,’ उनले भने, ‘अब यसपछि प्रदेश सभा हटाउँछ र देशमा संकटकाल लगाउँछन् । संकटकालबाट पनि आन्दोलन नरोकिए सेनालाई जिम्मा दिएर संविधान भंग गराएर अघि बढ्न खोज्छन् ।’

पार्टीभित्रको आन्तरिक विवादलाई बहाना बनाएर ओलीले संघीयता फाल्न चाहेको उनको भनाइ छ । ‘पार्टीभित्र विवाद भइरहन्छ । राजनीतिकमा विवाद हुनु ठूलो कुरा होइन,’ अध्यक्ष यादवले भने, ‘घरमै पनि बुवा छोरा, श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ । के त्यो झगडालाई हल गर्ने कि घरमै आगो लगाइदिने ?’

आफूहरुले संविधान त्रुटिपूर्ण छ भनिरहँदा पनि संविधान जारी भएको भन्दै उनले संविधानमा कतिपय राम्रा कुरा रहेको बताए । संघीयता, गणतन्त्र, सार्वभौमसम्पन्न जनता, मौलिक हक समावेशिताजस्ता कुरा संविधानको राम्रो पक्ष भएको बताउँदै उनले निर्वाचन प्रणाली, शासकीय स्वरुप, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधत्व, बहु्भाषिक नीति भने संशोधन गर्नुपर्ने उनले बताएका छन् ।

अध्यक्ष, उपेन्द्र यादव