रात्रिकालिन मनोरञ्जन पर्यटन व्यवसाय पनि अब खुल्ने

३ पुस, काठमाडौं । कोरोना महामारीका कारण करिब ९ महिनादेखि बन्द अवस्थामा रहेका व्यवसायको क्षेत्र क्रमिक रुपमा खुल्दै गएको बेला रात्रिकालिन मनोरञ्जन पर्यटन व्यवसाय पनि अब खुल्ने भएको छ । रात्रीकालिन सेवा सञ्चालनका लागि व्यवसायीहरुले माग गरिरहेका बेला सरकारले नाइट क्लब, दोहोरी साँझ, बार लगायतका रात्रीकालिन मनोरञ्जनका क्षेत्रहरु खोल्ने भएको हो ।
यस्तो सेवा आउदो साताबाटै खुल्ला गर्ने सरकारले तयारी गरेको छ । रात्रीकालिन सेवा पुनः चालनका लागि नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई हालै मात्र प्रस्ताव पठाएको छ । कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा पनि बजार व्यवसाय चलायमान गराउनका लागि आवश्यकताका आधारमा रात्रीकालिन सेवा पनि खोल्नुपर्ने देखिएकाले बोर्डले स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको छ ।