पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको र अब वामदेवको पालो आएकाले म हट्नु परेमा अबको प्रधानमन्त्री बामदेवलाई बनाऔं

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष, केपी शर्मा ओली

२ पुस, काठमाडौं । नेकपा भित्रको विवाद र झगडाले हिजो एकाएक अर्को रुप लिएको छ । हिजोको स्थायी कमिटी बैठकमा अध्यक्षद्धयले एकअर्कालाई लगाएका दोषारोपण फिर्ता गर्ने र सरकारले ल्याएको संवैधानिक परिषद्को विधेयक फिर्ता गर्ने सहमति अनुसार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुनः राखेका छन् ।

प्रधानमन्त्री निवासमा हिजो बुधबार वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै ओलीले अबको प्रधानमन्त्री गौतमलाई बनाउनुपर्ने प्रस्ताव राखेका थिए । ओलीले पार्टीका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब वामदेवको पालो आएको बताएका थिए ।

’यो बेला प्रधानमन्त्री किन फेर्नुप¥यो । यो लाइनका हामी सबै प्रधानमन्त्री भइसकेका छौं । यो लाइनमा नभएको उपाध्यक्ष मात्रै हो ।

बैठकको पहिलो लहरमा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम बसेका थिए ।

अर्का स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले पनि प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको बताए ।

’उहाँले अलिकति कार्ड फ्याक्नुभयो । त्यहीँ क्रममा वामदेवको नाम लिनुभएको हो,’ पोखरेलले भने, ’हामी मध्येमा उहाँनै प्रधानमन्त्री नभएको अरू भइसकेका छन् भनेर आज पनि कार्ड फ्याक्नुभयो ।’

यसअघि गत वैशाखमा पनि प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री पद छोड्नु पर्ने अवस्था आएमा गौतमका लागि छोड्ने बताएका थिए ।

हिजोकै बैठकमा आउँदो महाधिवेशनसम्म पार्टी अध्यक्षसमेत नछोड्ने प्रधानमन्त्री ओलीले अड्डी लिएका थिए ।

पार्टी एकताको कामलाई टुंगो लगाउने मेरो जिम्मेवारी हो । चैतमा महाधिवेशन हुन्छ त्यसपछि मात्रै मैले अध्यक्ष छोड्ने हो,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै स्थायी समिती सदस्य गुरूङले भने, ’महाधिवेशन माघमा पनि गर्न सकिन्छ । म त्यसका लागि समेत तयार छु ।