प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसद्धारा तत्काल संसद बैठक बोलाउन माग

१ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक तत्काल बोलाउन माग गरेको छ ।

आज बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

सहमहामन्त्री प्रकाशशरण महतले दिएको जानकारीअनुसार संसद बैठक तत्काल बोलाउन सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको हो ।
‘संसद बैठक तत्काल बोलाउन माग गर्ने निर्णय आजको बैठकले गरेको छ,’ सहमहामन्त्री महतले सेतोपाटीसँग भने ।

देउवा निवासमा करिब तीन घण्टा कांग्रेस शीर्ष नेता छलफलमा जुटेका थिए ।

यस्तै बैठकले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन पनि सरकारसँग माग गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

मंसिर २९ गते देशैभर सरकारविरूद्ध प्रदर्शनमा जुटेकालाई कांग्रेसले धन्यवादसमेत दिएको छ ।