अमेरिकामा भोलिबाट कोरोनावरुद्धको खोप लगाउन सुरु

२८ मंसिर, काठमाडौं । अमेरिकामा भोलि मंसिर २९ गते सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।

अमेरिकाले फाइजररबायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ ।

एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो ।

खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याइने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।

कोरोना महामारीबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित देश हो ।