एप्पलद्धारा ओभर द इयर हेडफोन एयरपड्स म्याक्स सार्वजनिक

एजेन्सी

२५ मंसिर, काठमाडौं । एप्पलले ओभर द इयर हेडफोन एयरपड्स म्याक्स सार्वजनिक गरेको छ । सुरुमा यसलाई आइफोन १२ सिरिजसहित सार्वजनिक गर्ने बताइएको थियो तर यस्तो हुन सकेन ।

एयरपड्स म्याक्स सार्वजनिक गर्नका लागि कम्पनीले कुनै प्रकारको कार्यक्रमको आयोजना गरेन । एप्पलका अनुसार यो ओभर इयर डिजाइन एयरपोड्स म्याक्समा एडेप्टिभ इक्यूसहित एक्टिभ नोइज क्यान्सिलेसन फिचर दिइएको छ ।

एप्पल एयरपड्स म्याक्समा एचवान चिप लगाइएको छ । कम्पनीले यसमा स्प्याटियल अडियो, ट्रान्सपरेन्सी मोडजस्ता एड्भान्स विशेषता दिएको छ । यसको मूल्य ५५० डलर तोकिएको छ ।
यो मूल्य आइफोन एसई (४०० डलर) भन्दा पनि महँगो हो ।

यति मूल्यमा प्लेस्टेशन फाइभ खरिद गर्न सकिन्छ, विमानमा न्यूयोर्कदेखि लस एन्जलिस आवतजावत गर्न सकिन्छ । ५५० डलरमा एप्पलको ४.५ सेयर खरिद गर्न सकिन्छ भने टेस्लाको एउटा सेयर खरिद गर्न सकिन्छ ।

यस्ता छन् अन्य विशेषताः

एप्पल एयरपड्स म्याक्सलाई पाँच रङमा सार्वजनिक गरिएको छ । यी हेडफोन सिल्भर, खैरो, निलो, हरियो र गुलाबी रङमा उपलब्ध छ । अमेरिकामा यसका लागि प्रि–अर्डर सार्वजनिक भएको दिनदेखि नै सुरु भइसकेको छ । यसको बिक्रि डिसेम्बर १५ देखि सुरु हुने बताइएको छ ।

डिजाइनको कुरा गर्ने हो भने यो हेडफोनमा निट मेश क्यानापी छ र स्टेनलेस स्टिल हेडब्यान्ड राखिएको छ । कम्पनीका अनुसार टाउकोको भिन्न आकार प्रकार हुने भएकोले यसमा दिइएको स्टिल हेडब्यान्डलाई मिलाउन सकिन्छ ।

यसका साथै यसमा डिजिटल क्राउन दिइएको छ । कम्पनीका अनुसार यो डिजिटल क्राउन एप्पल वाचबाट प्रभावित छ । यो क्राउन (घुमाउन मिल्ने बटन) ले प्रयोगकर्ताले आवाज घट्बड गर्न सक्छन् ।

एप्पल वाचमा जस्तै भएको क्राउनले प्ले वा पज गर्न सकिन्छ । अडियो ट्र्याक स्किप गर्न सकिन्छ, फोन उठाउन सकिन्छ र राख्न सकिन्छ । यो क्राउनमार्फत् सिरीलाई पनि एक्टिभेट गर्न सकिन्छ ।

यसमा टेलिस्कोपिङ हेडब्यान्ड आर्म्स दिइएको छ जसले यसलाई सजिलै बढाउन सकिन्छ ।

अडियो क्वालिटीको कुरा गर्नुपर्दा कम्पनीले यसमा ४० एमएमको डायनामिक ड्राइभर दिएको छ जसलाई एप्पलले नै डिजाइन गरेको हो । कम्पनीले दाबी गरे अनुसार यस ड्राइभरमार्फत् क्रिस्प, डिप बेस, सटिक मिड रेन्ज र हाई फ्रिक्वेन्सी नोट हासिल गर्न सकिन्छ ।

एप्पल एयरपड्स म्याक्सलाई आइफोनसँग जोड्न एयरपड्स जस्तै सहज हुनेछ । कम्पनीका अनुसार यसको ब्याट्रिले २० घण्टासम्म ब्याकअप दिनसक्छ ।

एप्पल एयरपड्स म्याक्ससहित सफ्ट स्लिम स्मार्ट केस पनि दिइने छ । कम्पनीले यो केसमा राखेर यसको चार्जिङ जोगाउन सकिने बताएको छ ।