सर्वोच्च अदालतद्धारा जग्गाको कित्ताकाट गर्ने व्यवस्था खारेज

१७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णय खारेज गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गा रोक्काको निर्णय खारेज गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै उक्त निर्णय जारी गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ ।

अधिवक्ता सन्तोष भण्डारीले दिएको रिटमाथि दुवै पक्षको बहस सुनेर सर्वोच्चले यस्तो निर्णय गरेको हो ।

’कृषि योग्य जमिन मास्ने गरी सरकारले गरेको कित्ताकाटको निर्णय खारेज गर्न हामीले माग गरेका थियौं। हाम्रो रिटमाथि सुनुवाइ भयो हाम्रो माग अनुसार रिट जारी भयो,’ रिट निवेदक अधिवक्ता भण्डारीले भने ।

भू(उपयोग ऐन २०७६ दफा ८ ले जुन प्रयोजनको लागि तोकिएको जग्गा हो, त्योबाहेक अर्को कामका लागि उक्त जग्गा प्रयोग गर्न नपाइने भनेको छ ।

सरकारले कित्ताकाट गर्ने निर्णय उक्त कानुनविपरीत भएको भन्दै अधिवक्ता भण्डारीले रिट दायर गरेका थिए ।

भूमि व्यवस्था मन्त्रालयले गत भदौ १८ गते जग्गाको कित्ता गर्न पाइने निर्णय गरेको थियो ।

सरकारले २०७३ देखि जग्गा कित्ताकाट गर्न रोक लगाएको थियो।

उक्त रोक्का भदौ १८को मन्त्रीस्तरीय निर्णयबाट फुकुवा भएको हो । कित्ताकाट गर्दा कृषि योग्य जमिन मासिने भन्दै आलोचना पनि भएको थियो ।

सत्तारूढ दल नेकपाभित्रै भूमि व्यवस्था मन्त्रालयको उक्त निर्णयको विरोध भएको थियो ।