बालिका बलात्कारको अभियोगमा १७ वर्षे किशोर पक्राउ

२० मंसिर, बैतडी । बालिकालाई बलात्कार गरेको आरोपमा दोगडाकेदार गाउँपालिका–६ सित्तडका १७ वर्षीय एक किशोर पक्राउ परेका छन् ।

यही मङ्सिर १६ गते आफ्नै घरमा लगेर १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एंव प्रहरी निरीक्षक धनदेव साउदका अनुसार उमेर नपुगेकाले पक्राउ परेका किशोर तथा किशोरीको नाम सार्वजनिक गरिएको छैन । दुवै जनाको जन्मदर्ता मगाएर थप अनुसन्धानको काम भइरहेको उनको भनाइ छ ।

पिडीत किशोरीका आफन्तको उजुरीका आधारमा जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी
दिए । उनले भने, “ जिल्ला अदालत बैतडीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिसकेका छौँ, प्रारम्भिक अनुसन्धानबाट दुवै जनामा प्रेम सम्बन्ध रहेको र आफन्तले थाहा पाएपछि उजुरी गरेको खुल्न आएको छ”, पक्राउ परेका किशोर प्रहरी हिरासतमा रहेका छन् भने किशोरी आफन्तसँगै रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।