सपनाको जागिर भन्दा बिपनाको व्यापार उत्तम

माको कोखबाट मानव भएर यस धर्तिमा आउने सबै मान्छेहरु नाम बिना नै आएका थिए र भोलि जीवन भर कमाएको धन, सम्पति,पद र प्रतिष्ठा आदि सबै थोक यहि छोडेर खाली नाम मात्र साथमा लिएर धर्तीबाट बिदा हुनु पर्ने
हुन्छ । ढिलो चाँडो फरक यति हो ।

हाम्रो नेपाली समाजमा अहिले पनि बाल्यकालदेखि नै सीमा तोकिएका कामहरु गर्न प्रेरणा दिने गरेको पाईन्छ । मेरो जीवन भोगाईको क्रममा जन्मभूमिदेखि कर्मभूमि सम्मका आदरणीय अग्रज व्यक्तित्वहरुले दिने आर्शिवादमा पनि समानता छ । औसत व्यक्तिहरु ले ठुलो मान्छे डाक्टर, ईन्जिनियर र पाईलट बन्नु भन्ने आर्शिवाद दिने गरेको पाईन्छ ।

कृर्षि प्रधान देशमा कसैले पनि ठुलो किसान, व्यापारी र सामाजिक कार्यकर्ता बन्नु भन्ने जस्ता आर्शिवाद कही कतै दिएको जानकारीमा मलाई छैन् । यसबाट के कुरा प्रष्ट हुन्छ भने धेरै जसो मान्छेको सोच र बिचार जीवनमा यदि सफल मान्छे बन्नु छ, भने राम्रो जागिर होस् भरसक त्यो सरकारी जागिर नै होस् । अनि मात्र मैले जीवनमा प्रगति गर्न सक्छु भन्ने छ ।

मान्छेहरु यसैको पछि लाग्छन । सरकारी जागिर खानको लागि हर प्रयत्न गर्छन । आधि उमेर सकिए पछि कसैको सपना पुरा हुन्छ भने कसैको सपना चकनाचुर हुन्छ । युद्धमा हारेको सिपाही जस्तो मनमा निराशा बोकेर बिस्तारै अन्य बिकल्पहरुको खोजिमा लाग्छन ।

धेरैजसो युवा युवतीहरु नेपालमा केही सम्भावना नदेखेर बिदेश तिर पलाएन हुन्छन । भने केहि युवा युवतीहरु आफ्नो भाग्यलाई दोष दिदै जन्मभूमि नेपालमै रहेर सपना देखेको भन्दा पृथक पेशा तथा व्यवसाय गर्न बिवश हुन्छन ।
वास्तवमा मान्छेले गर्ने सबै कामहरु प्रति सकारात्मक सोच राखेर आफु मात्र खुसी हुने हैन मैले गर्ने कामसँग सम्बन्धित सबै जना खुशी हुनुपर्छ भन्ने उद्देश्य राखेर निरन्तर न्याय संगत काम गर्ने हो भने जुन सुकै पेशा तथा व्यवसायमा आवद्ध भएता पनि जीवन सफल बनाउन सकिन्छ ।

जुन सुकै क्षेत्र र संगठनमा आवद्ध भएको जो कोहि व्यक्तिले पनि म यो क्षेत्र र संगठनको कार्यकारी तहमा पुगेर नेतृत्वदायी भूमिकामा काम गर्ने तिब्र ईच्छा, चाहना र उद्देश्य राखेको हुन्छ । तर नेपालमा भने राजनीतिक भागबण्डाको आधारमा संबैधानिक नियुक्ति गर्ने कानूनी व्यवस्थाको कारण त्यसरी नियुक्त हुने व्यक्तिहरुको बढी झुकाप देश र जनताप्रति भन्दा पनि आफु आवद्ध भएको राजनीतिक दलप्रति हुने भएको कारणले बेला–बेलामा तिनै संबैधानिक निकायहरु बिवादमा मुछिने गरेको पाईन्छ । लाग्छ संगठन एक आलिशान महल हो । भित्र छिर्दा जति मेहनत गर्नु पर्छ माथिल्लो तलामा जान त्यति धेरै मेहनत गर्नु पर्दैन । जो व्यक्ति कसैको ईशारामा नाँच्छ । उसको भागमा बिधुतीय लिफ्ट फेला पर्छ भने जो व्यक्ति आफ्नै तालमा नाँच्छ उसको भागमा काठको भर्याङ फेला पर्छ ।

कसलाई के पार्ने भन्ने कुराको निर्णय सिमित व्यक्तिले एक बन्द कोठा भित्र गर्छन । फास्ट ट्रायाकको माध्यमबाट आफुले चाहेको आफ्नो ईशारामा नाँच्ने राम्रो भन्दा पनि हाम्रो व्यक्तिलाई प्राथमिकता दिएर सिधै माथि लगिन्छ । हिजो आज तपाई हाम्रो समाजमा लामो समय जागिरे जीवनमा उत्कृष्ट कार्यसम्पादन भएका, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अब्बल ठहरीएका र जनताको मन जितेर पनि असफल बनाईएका पात्रहरु पुनः राजनीति तथा व्यवसायमा सक्रिय भएर काम गरेको देख्न पाईन्छ । असन्तुष्टि र गुनासो जहाँ पनि हुन्छ । यो एक मानवीय व्यवहार पनि हो । बिचार गर्नु पर्ने महत्वपुर्ण कुरा के छ, भने उसले गरेको असन्तुष्टि र गुनासो उसको व्यक्तिगत स्वार्थको लागि होकी ? व्यवसायिक स्वार्थको लागि
हो ? यो कुरा सम्बन्धित निकायले बुझ्न जरुरी छ ।

जबसम्म नेपालमा राजनीतिक भागबण्डाको आधारमा संबैधानिक नियुक्ति गर्ने व्यवस्था कायम रहन्छ, तबसम्म यो समस्या यथावत रहिरहने छ । कहिले दाईको पालो त, कहिले भाईको पालो । जति आफ्नो देश प्रतिको माया सिमाना बस्ने नागरिकहरुलाई लाग्छ । त्यति नै माया आफ्नो पेशा र संगठन प्रति बफादार भई अहोरात्र जनताको सेवामा काम गर्ने सफल भएर पनि असफलको बिल्ला भिडाएकाहरुलाई लाग्छ । तर के गर्ने यस्तै छ, यहाँको चलन । समयमा नै यस्तो कानूनी व्यवस्था फेरियन भने एक जना व्यक्ति लाई असफलताको बिल्ला भिडाउदा त्यसको प्रत्यक्ष असर उक्त पेशा र संगठनमा आवद्ध भएर राम्रो काम गर्ने हजारौ–हजार पेशाकर्मी र सिंगो संगठनलाई पर्छ ।

जीवनको आधिभन्दा बढी समय आफ्नो घर र परिवारलाई भन्दा पनि पेशा र संगठनप्रति समर्पित गर्ने व्यक्तिको नजरमा सेवाग्राही उसका भगवान, अफिस उसको एक पबित्र मन्दिर र उ स्वयम पुजारी हो । भन्ने सम्झेर अहोरात्र जनताहरुले अनुभुति गर्ने खाँलको सेवा प्रवाहमा लागेको हुन्छ । सेवा प्रवाहको क्रममा उसले उक्त पबित्र मन्दिरमा आउने सबै भक्तजनहरुलाई एउटै नजरले हेरेर पबित्रता कायम राख्ने उद्देश्य राखेर न्याय संगत काम गरेको कारण उसको वितृ विकासमा अबरोध सृजना गरेर नैतिकताको आधारमा सेवाबाट अबकाश लिन बाध्य पारिन्छ । हिजो सेवा प्रवेश गर्दा असफल भएर युद्ध हारेको सिपाही जस्तो निराश भएर अन्य पेशा तथा व्यवसाय अंगाल्न बिवश भएका व्यक्तिहरुको अहिलेको सफलता र खुसी हेर्दा र हिजो देखि आजसम्म सदाबहार सफल भएर पनि असफलताको बिल्ला भिडाएकाहरुको ताजा अवस्था हेर्दा लाग्छ । सपनाको जागिर भन्दा बिपनाको व्यापार र पेशा नै उत्तम रहेछ ।