आजको सचिवालय बैठकमा ओलीका चार अडान : भोलिको सचिवालय बैठकमा नजाने

१६ मंसिर,काडमाण्डौ । आज बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तिक्ततापूर्ण रुपमा सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच घम्साघम्सी परेपछि बैठक तिक्ततापूर्ण बनेको थियो ।

महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिनको केक काटेर शुरु भएको बैठकको शुरुबाटै विवाद शुरु भएको थियो । सुरुमा ओलीले बैठकको एजेण्डाबारे प्रश्न गरेका थिए । प्रचण्डले सचिवालयमा पेश भएका डकुमेन्टबारे छलफल हुने बताए । तर ओलीले प्रचण्डको डकुमेन्टमा छलफल गर्न नसकिने अडान लिए ।

यदि यो डकुमेन्टमाथि छलफल भएमा बैठकको औचित्य नै नहुने ओलीले अडान लिएपछि भने माहौल अर्कै बन्न पुग्यो ।

स्रोतका अनुसार, बैठकमा ओलीले मुलतः चार अडान राखे । पहिलो, प्रचण्डको प्रस्तावमाथि छलफल हुनै सक्दैन । यो डकुमेन्ट कुण्ठा र लाञ्छनाले भरिएकाले यसमाथि छलफल नहुने ओलीको अडान
थियो ।

दोस्रो, प्रचण्डले माफी माग्नुपर्छ । नेताहरुमाथि आरोपप्रत्यारोप गरिएको पत्रहरु समेटेर प्रकाशन गरिएकोमा ओलीले आपत्ति जनाए । लाञ्छनाहरुले भरिएको पत्र पार्टीकै लोगो राखेर प्रकाशन गर्नु पार्टी विधान बिपरीत भएको ओलीको तर्क थियो ।

तेस्रो, अल्पमत र बहुमतको कुरा हुन्न । बहुमतबाट निर्णय गर्ने नियतले बैठक बोलाउने र गलत प्रचार गर्नुले पार्टी एकता कायम रहन सक्दैन, विभाजनलाई बल पुग्छ भन्ने उनको दाबी थियो ।

चौथो, भोलि (मंसिर १७) बोलाइएको बैठकमा नआउने । स्रोतका अनुसार ओली पक्षले बैठक केही दिन स्थगित गर्न चाहेका थिए । तर अरु नेताहरुले अनौपचारिक सम्वाद पनि गर्ने र बैठक पनि नरोक्ने बताए ।

कार्यकारी अध्यक्ष प्रचण्डले भोलि बुधबार १ बजे बैठक बस्ने बताए । तर ओली त्यस्तो बैठकको के काम भन्दै उठेको एक नेताले बताए । उनी भोलिको बैठकमा नआउने संकेत देखिएको नेताहरुले बताएका छन् ।

‘भोलिको बैठकमा प्रधानमन्त्री जानुहुन्न । कार्य व्यस्तताका कारण बैठकमा बस्न नसक्ने जानकारी दिइसक्नु भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । नेकपाको स्थायी कमिटी बैठक पर्सि (मंसिर १८ मा) बोलाइएको छ भने केन्द्रीय कमिटी बैठक मंसिर २५ मा राखिएको छ ।