भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

१२ मंसिर, काठमाण्डौ । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा–१० का ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भरतपुरका वृद्ध मंसिर ५ गते कोरोना संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याका कारण अस्पताल भर्ना भएका
थिए ।

उनलाई सोही दिनदेखि कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । शुक्रबार विहान सवा ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी मंसिर ८ गते कोरोना संक्रमण भएकी हेटौंडाकी महिलालाई ११ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो ।

कोभिड आइसियूमा राखेर उपचार गराइएकोमा उनको कोभिड–१९ निमोनियाका कारण शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जानकारी गराएको छ ।

यसअघि बिहीबार मात्रै हेटौंडा–८ की ५७ वर्षीया कोरोना संक्रमित महिलाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार अहिलेसम्म चितवन ठेगाना भएका ८९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

५ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा अहिले सकृय संक्रमितको संख्या ४ सय ८१ छ । ती मध्ये अस्पतालमा ३९ र पब्लिक आइसोलेसनमा १५ जना छन् । अन्य सबै होम आइसोलेसनमा छन् ।