काठमाडौं महानगरपालिकाले भोलिबाट निशुल्क पिसिआर परीक्षण गर्ने

६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि आइतबारदेखि निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ ।

आज शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले निःशुल्क पिसिआर परीक्षण गराउन लागेको जानकारी दिएका हुन् ।

उनले कार्यक्रममा पत्रकारहरूसँग बोल्दै आइतबारदेखि स्वाब संकलन गर्ने कार्यलाई पुनः सूचारू गर्न लागेको बताए ।

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी समेत रहेको उनले बताए ।

महानगरले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरेका छन् ।

यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताए ।

अहिले भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने पनि मेयर शाक्यले बताएका छन् ।