नेकपा केन्द्रमा देखिएको विवाद जिल्लासम्म :: चितवनमा कार्यक्रम स्थलमै सुरेन्द्र पाण्डेलाई केपी ओली पक्षका कार्यकर्ताद्धारा नाराबाजी र बिरोध

६ मंसिर, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवाद जिल्लासम्म पुगेको छ ।

पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका हुन् ।

राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा आज शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए । पाण्डेले ‘मदन भण्डारी फाउण्डेसन मार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गरेका थिए । ‘पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनमा उनलाई कुनै पनि कार्यक्रममा बोल्न दिदैनौं’ आचार्यले भने ।

नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।

नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले भने केही साथीहरुले कार्यक्रममा आएर उछ्रिंखलता देखाएको बताए । ‘उहाँले गुटका कुरा गर्नुभएको थिएन, तर साथीहरु आएर पार्टीको नाममा गुट गर्ने भनेर नारावाजी गर्नुभयो’ लामाले भने, ‘यसो नगरेको भए राम्रो हुन्थ्यो भनेर भनेका छन् ।