बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने

६ मंसिर, काठमाण्डौ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ ।

मंसिर ८ गते देखि मंसिर १२ गते सम्मका लागि नाका खुला गरिने भएको हो ।

भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सहज होस् भनेर पाँच दिनका लागि नाका खोल्ने तयारी भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिएका छन् ।

‘लामो समयदेखि पेन्सन बुझ्न नपाएकाहरूका लागि हामीले नाका खोल्ने तयारी गरेका हौं। दुवै देशका स्थानीय प्रशासनको सहजीकरणमा नाका खोल्ने तयारी भएको हो ।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।

पेन्सनधारी नागरिकहरूले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् ।
नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरूले समेत आवतजावत गर्न पाउने प्रशाशनले जनाएको छ ।

नाकामा पेन्सनधारी र अन्यहरूले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्नेछ ।