५ मंसिर, काठमाण्डौ । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ ।
उपत्यकाको बागमती किनारमा बनाइएको छठघाटमा सयौंको संख्यामा सहभागी भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
यो वर्ष कोरोना भाइरस (कोभिड—१९) का कारण ठूलो संख्यामा मान्छेहरू भेला नहुन सरकारले आग्रह गरेको थियो । उखुको लाक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा जाने गर्छन् ।
आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।
बिहान स्नान गरी चोखोनितो गरेर बसेका बर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ ।
छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।
छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति ब्रतालुले प्रसादस्वरूप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।
षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।