प्रचण्डले लगाएका झुट्टा आरोपको जवाफ दिन्न – प्रधानमन्त्री

३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपहरु झूठा भएको बताएका छन् । आफूले त्यस्ता ‘वाहियात एवं झूठा आरोपहरुको जवाफ नदिने प्रधानमन्त्रीको अडान छ ।

आइतबार बालुवाटारमा महासचिव विष्णु पौडेललाई साक्षी राखेर प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले आफूमाथि यसैगरी आरोप लगाउने हो भने आफू पनि अर्को ‘एक्स्ट्रिम’मा जान सक्ने बताएका थिए ।

बैठकमै बसेर आरोपहरुको खण्डन गर्न सकिने वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर, प्रधानमन्त्रीले त्यस्ता ‘वाहियात आरोप’को आफूले जवाफ नदिने बताएको स्रोतले भन्यो ।

बैठकमै बसेर आरोपहरुको खण्डन गर्न सकिने वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर, प्रधानमन्त्रीले त्यस्ता वाहियात आरोपको आफूले जवाफ नदिने बताएको स्रोतले भन्यो ।

वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग भएको दुईघण्टा लामो कुराकानीमा प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग सँगै हिँड्न नसकिने बताउँदै आफूलाई सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए ।

वरिष्ठ नेता नेपालले त्यसरी अर्को छोरमा पुगेर सोच्दा समस्या समाधान नहुने भन्दै संयमित भएर समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको स्रोतले बतायो ।

आइतबार माधव नेपाल र विष्णु पौडेलसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले बालुवाटारमै उपाध्यक्ष वामदेव गौतमसँग करिब डेढघण्टा छलफल गरेका थिए ।

सघन परामर्शमा प्रधानमन्त्री

शुक्रबारको सचिवालय बैठकपछि नेकपाको आन्तरिक राजनीतिमा थप तरंग उत्पन्न भएको छ । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीको राजीनामा माग्ने आशयको (त्याग गर्नुपर्ने) राजनीतिक प्रस्ताव पेश गरेपछि त्यसको ‘काउन्टर’ कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सघन सम्वाद अगाडि बढाएका छन् ।

आइतबारसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले पार्टीभित्रका विभिन्न नेताहरुका साथै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरिसकेका छन् । आइतबार उनले उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा बेग्लाबेग्लै छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाएपछि नेता नेपालले भीम रावललगायतका नेताहरुलाई पनि लिएर आउने प्रस्ताव गरेका थिए । तर, ओलीले सचिवालयस्तरमा मात्रै कुराकानी गरौं भनेपछि महासचिव पौडेलसहित तीनजनावीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

माधव–ओली भेटमा उपाध्यक्ष वामदेव गौतमलाई पनि सँगै बस्न आग्रह गरिए पनि ‘मैले प्रधानमन्त्रीसँग अघि नै कुराकानी गरिसकें’ भन्दै गौतम नआएको बुझिएको छ ।

गत शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले अप्रत्यासितरुपमा आफूविरुद्ध प्रस्ताव दर्ता गराएपछि चकित बनेका प्रधानमन्त्रीले त्यही दिन बैठक सकिएलगत्तै बालुवाटारमा माधवकुमार नेपालसँग छुट्टै कुराकानी गरेका थिए ।

नेता नेपालसँगै उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा बादलसँग पनि प्रधानमन्त्री ओलीले अब के गर्ने भन्नेबारे छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले बैठकको भोलिपल्ट (शनिबार) शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि पछिल्लो राजनीतिक परिस्थिति एवं पार्टीमा उत्पन्न समस्याबारे छलफल गरेका थिए ।

शुक्रबार केहीबेर बसेर मंसिर ३ गते बस्ने गरी सचिवालय बैठक स्थगित भएको छ । मंसिर ३ को बैठकमा प्रचण्डको लिखित प्रस्ताव, केपी ओलीको १० पन्ने पत्रलगायतका डकुमेन्टहरु अध्ययन गरेर त्यसमाथि छलफल गर्ने भनिएको छ । तर, प्रधानमन्त्रीले प्रचण्डले लगाएका आरोपको जवाफ नदिने नेताहरुलाई स्पष्ट पारेका छन् ।

उता, स्थायी कमिटी सदस्य शंकर पोखरेल लगायतका ओली पक्षका नेताहरुले प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव फिर्ता हुनुपर्ने अडान राखेका छन् ।