ललितपुरका इमाडोलमा कीरा मार्ने बेगनबाट आगलागी भएको खुलसा

२८ कात्तिक, ललितपुर । ललितपुरको इमाडोलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

आज शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको इमाडोलमा आगलागी भएको थियो ।

महानगरीय प्रहरी प्रभाग इमाडोलका इन्स्पेक्टर विजय तिमिल्सिनाका अनुसार फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा आगलागी भएको हो ।

सो आगलागी नियन्त्रणमा आएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उक्त आगलागी कीरा मार्ने बेगनहरूबाट लागेको प्रहरीले बताए ।

’मिति सकिएका बेगनका बट्टाहरू डिस्पोज गर्न ल्याएका थिए । त्यसलाई कुच्याएर गाडीमा हाल्दै थियो,’इन्स्पेक्टर तिमिल्सिनाले भने,’त्यही बेला कसरी आगो
सल्किएछ ।’

उनका अनुसार आगलागीबाट गाडीहरूमा पनि क्षति पुगेको छ । ११ वटामध्ये तीन वटा गाडी पूर्ण रूपमा क्षति पुगेको छ ।

त्यस्तै पाँच वटा गाडी र एक मोटरसाइकलमा सामान्य क्षति पुगेको उनले बताए ।

बा १ क ५०३९ नम्बरको कन्टेनर, बा १ ग २८६५ नम्बरको टिफर र बा १ ग ३३३६ नम्बरको मिनी ट्रकमा पूर्ण क्षति पुगेको हो ।