झापामा एक जना कोरोना संक्रमणका कारण पुरुषको मृत्यु

२८ कात्तिक, झापा । झापाको शिवसताक्षी नगरपालिकामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार स्थानीय वडा नम्बर ६का ६२ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।

उनको कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनको झापाको बि एण्ड सी अस्पतालमा उपचार भइरहेको थियो ।

नगर स्वास्थ्य शाखाका सन्जय ठकुरीका अनुसार मृतकको कार्तिक २४ मा कोरोनाको थप परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

बि एण्ड सी अस्पतालका सूचना अधिकारी प्रमिस गिरीका अनुसार मृतकमा मृगौला रोग को पनि समस्या थियो। तर, परिवार स्रोतका अनुसार मृतकको कोरोना संक्रमण बाहेक अन्य कुनै रोग थिएन ।

मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली सँग समन्वय भइरहेको क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष भैरव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

शिवसताक्षी नगरमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या यो सहित पाँच पुगेको छ। वडा नम्बर ६ मा मात्रै कोरोना संक्रमण भएर तीन जनाको मृत्यु भएको छ ।