कलंकीमा भयानक दुघृटना ३ को मृत्यु एक घाइते

२७ कात्तिक, काठमाडौं । आज बिहान करिब साढे ३ बजे कलंकीमा भयानक दुघृटना भएको छ । काठमाडौंको कलंकीमा रोकिराखेको ट्रकमा कुखुरा बोकेको गाडी ठक्कर खाएपछि तीन जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि बिहीबार बिहान करिब ३ः३५ मा दुर्घटना भएको हो ।

बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी मकालु पेट्रोल पम्पअगाडि सडकमा रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकसँग ठक्कर खाएको थियो ।

घाइतेहरूलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा लगिएकोमा तीन जनाको निधन भएको र एक जना सामान्य घाइते रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपील बोहराले सेतोपाटीलाई बताए ।

दुर्घटनामा परेका नुवाकोट सुन्दरदेवी गाउँपालिका घर भएका २४ वर्षिय रोशन तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिका घर भएका ३७ वर्षका माधव घिमिरे र तारकेश्वरकै २७ वर्षिय भूपेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै नुवाकोट तारकेश्वरका २२ वर्षिय बिजय तामाङ घाइते छन् । उनको खुट्टामा चोट छ । प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन् ।

दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।