लोक सेवा आयोगद्धारा प्राविधिकलगायत विभिन्न पदमा दरखास्त आह्वान

२६ कात्तिक, काठमाण्डौ । लोक सेवा आयोगले निजामति सेवामा प्राविधिकलगायत विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

करिब तीन सय पदका लागि आयोगले दरखास्त माग्दै आज बुधबार सूचना निकालेको हो ।

राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन आयोगले गरेको छ ।

दरखास्त मंसिर १६ गतेसम्म दिइसक्नुपर्ने आयोगले बताएको छ ।

निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

तर बहालवाला निजामति कर्मचारीको हकमा भने उमेरहद लाग्ने छैन । परीक्षा मिति पछि तय गरिने आयोगले बताएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको सिफारिसका आधारमा आयोगले यी पदमा विज्ञापन खुलाएको हो ।

३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गरिनेछ ।