प्रधानमन्त्री आज संखुवासभा जाँदै

२६ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली केही बेरमा संखुवासभा जिल्ला जाँदैछन् । प्रधानमन्त्री ओली बिहान १० बजे तिर संखुवासभा पुग्ने कार्यक्रम छ ।

पार्टीभित्रको आन्तरिक किचलो बढिरहेका बेला उपत्यका बाहिर निस्किएका प्रधानमन्त्रीको विशेष कार्यक्रम भने छैन । उनले सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने बुझिएको छ ।

संखुवासभामा प्रधानमन्त्री सहभागी हुने तीनवटा कार्यक्रम तय भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार पहिलो कार्यक्रम भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा राखिएको छ ।

ओलीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गर्नेछन् । त्यसपछि स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल गर्नेछन् ।

किथामाङ्काबाट १०ः३६ मा भोटखोला ३ मा पर्ने च्यान्ताङ भन्ने स्थानमा जानेछन् । च्यान्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्नेछन् । च्यान्ताङमा त्रिदेशीय महत्वको सडकको निर्माण प्रगतीबारे उनले जानकारी लिनेछन् । स्थानीय र जनप्रतिनिधीसँग पनि छलफल गर्नेछन् ।

च्यान्ताङ पछि १ः३० बजे भने प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । मकालु गाउँपालिका–५ मा पर्ने फ्याक्सिल्लामा आयोजनाको ड्याम बनिरहेको छ ।

ड्यामको निरीक्षण पछि प्रधानमन्त्री ओलीले निर्माणको प्रगतिबारे ब्रिफिङ लिनेछन् । राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रोको ड्यामस्थलमा प्रधानमन्त्री ओलीले दुई घण्टा बिताउने कार्यतालिका बनाइएको छ ।

एक खर्ब ४४ अर्ब निर्माण लागत अनुमान गरिएको अरुण तेस्रो नौ सय मेगावाट क्षमताको जलविद्युत आयोजना हो । यसको शिलान्यास २०७५ बैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा गरेका थिए । अरुण तेस्रोको हालसम्म करिब ४० प्रतिशत काम सकिएको बताइन्छ ।

जलविद्युत परियोजनाको निरीक्षण पछि प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसँग छलफल र जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनेछन् । सो क्रममा प्रदेश र प्रतिनिधिसभा सांसदका कुरा पनि उनले सुन्नेछन् ।

फ्याक्सिलाबाट ३ः३० मा प्रधानमन्त्री ओली काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।