हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्ली क्यापिटल फाइनलमा

२४ कात्तिक, काठमाण्डौ । दिल्ली क्यापिटल्स आइपिएल २०२० को फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्लीले फाइनलमा स्थान पक्का गरेको हो ।

दिल्ली आइपिएलको फाइनलमा पहिलो पटक पुगेको हो। यसअघिका १२ संस्करणमा दिल्लीले फाइनलमा स्थान बनाउन सकेको थिएन ।

अब उपाधिका लागि दिल्लीले मंगलबार मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता मुम्बईले भने पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।

आइतबार अबुधाबीमा पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १८९ रन जोड्यो ।

दिल्लीका लागि ओपनिङ गरेका मास्कोस स्टोइनिसले २७ बलमा ३८ रन र अर्का ओपनर शिखर धवनले सर्वाधिक ७८ रन जोडे।धवनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए ।

कप्तान श्रेयस इयरले २१ रन र शिमरन हेटमेयरले नटआउट ४२ रन जोडे । हेटमेयरले २२ बलमा ४ चौका र १ छक्का प्रहार
गरे ।

बलिङमा हैदरावादका सन्दीप शर्मा, जासन होल्डर र रासिद खानले १(१ विकेट लिए ।

१९० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन जोड्यो ।

हैदरावादका लागि केन विलियमसनले ४५ बलमा ६७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन । अब्दुल समादले ३३ रन जोड्दा अन्य ब्याट्सम्यान लगातार आउट भएका थिए ।

बलिङमा दिल्लीका कागिसो रबाडाले ४ विकेट लिए। उनले ४ ओभरमा २९ रन दिए । प्लेयर अफ दि म्याच भएका मार्कोस स्टोइनिसले ३ विकेट हात पारेका थिए ।