’मेरा त जुंगा पनि आधा कालो भएर आएका छन्, मेरो पनि त भूमिका होला नि

२३ कात्तिक, काठमाण्डौ । नेकपा वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि बालुवाटार आउन खबर गयो ।

बिहान खबर आएपछि वरिष्ठ नेता नेपाल पनि आफूनिकट तीन स्थायी कमिटी सदस्यहरू लिएर मध्यान्ह बालुवाटार पुगे ।

वरिष्ठ नेता नेपालसँगै स्थायी समिति सदस्य भीम रावल,सुरेन्द्र पाण्डे र रघुजी पन्त बालुवाटार पुगेका थिए ।

छलफलमा प्रधानमन्त्रीका तर्फबाट भने उनीमात्रै थिए । सुरूमा उनले पार्टी संकटमा परेको, फुटको संघारमा पुगेको भनेर लामो व्याख्या गरे ।

त्यस्तो ठोस कुरा केही भएन । प्रधानमन्त्रीले लामो गनगने कुरा गर्नुभयो । पार्टी फुटको संघारमा छ जस्तो कुरा गर्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने,’यस्ता गनगने र तपसिलका कुराले के हुन्छ र ? भनेर हामीले भन्यौं । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले तपाईंनै लचिलो हुनुपर्छ भनेर भनेका छौं ।’

तीन घन्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले पार्टी समस्याकै बारेमा कुरा गरे । वरिष्ठ नेता नेपाल र उनीसँगै गएका नेताहरूले पार्टी बैठक, विधि र विधानका कुरा गरे ।

सुरूमा आफ्ना धारणा राखेका प्रधानमन्त्री ओलीले नेपाल पक्षका कुरा सुनिसकेपछि छोटो कुरा गरे । जुन अरूले सोचेभन्दा बिल्कुलै फरक थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको प्रसंग जोडेर आफू अझै सक्रिय रहने भन्दै घुमाउरो रूपमा आफूलाई कमजोर नआँक्न समेत भनेको एक नेताले बताए ।

उहाँले लास्टमा रमाइलो कुरा भन्नुभयो । दोस्रोपल्ट मेरो किड्नी परिवर्तन गरेपछि खै के भएको हो कुन्नि हाच्छ्यूँ पनि आउँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने,’यताउता केही पनि भएको छैन । तरल र ताजा पनि छु, झन–झन बलियो भएको छु ।’

प्रधानमन्त्री ओलीले आफ्ना जुंगा पहिला सबै सेता आउने तर अहिले भने आधा कालो भएर आउन थालेको समेत बताएको ती नेताले बताए ।

’मेरा त जुंगा पनि आधा कालो भएर आएका छन्, मेरो पनि त भूमिका होला नि भन्नुभयो । अब बुझी त हाल्नुभयो नि,’ ती नेताले भने ।