बेनीमा थप एक हप्ताका लागि लकडाउन

२१ कात्तिक, म्याग्दी । कोरोना भाइरस फैलिने जोखिम अझै रहेको भन्दै बेनी नगरपालिकाले एकहप्ताका लागि फेरी लकडाउन गर्न डिसिसिएमसीलाई सिफारिस गरेको छ । नगरपालिकाले नगरपालिका क्षेत्र भित्रमा अत्यावश्यक बाहेकका सवै सेवाहरु बन्द गर्ने नगरको निर्णय सहित डिसिसिएमसीलाई सिफारिस पठाइएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिएका छन् । ।

डिसिसिएमसीको वैठकबाट निर्णय भएमा आजै रातीबाट लागू हुने छ । एकहप्ता अघि गरिएको बन्द आज राती १२ बजे सकिँदै छ ।

गत विहिवार बेनीमा कोरोना संक्रमणका कारण एकजना पुरुषको मृत्यु भएपछि थप जोखिम बढेको भन्दै सजगता र सतर्कता अपनाइएको हो । मृतकको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सार्वजनिक यातायात खुल्ला र अन्तरजिल्ला आवागमनलाई कायम राखेर गरिएको बन्दको सार्वजनिक रुपमा विरोध भएको छ । बजार र सरकारी कार्यालय मात्रै बन्द कोरोना रोकथामको समाधान नभएको नागरिक समाजका अगुवाहरुले बताएका छन् । कोरोना फैलिएका क्षेत्रहरुबाट निर्वाध रुपमा आवतजावत गर्न दिएर बजार बन्द गर्नुको औचित्य नभएको उनीहरुको भनाई रहेको छ ।