काबुल विश्वविद्यालयमा भएको आक्रमणमा परेर १९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते

एजेन्सी

१७ कात्तिक, काठमाडौं । अफगानिस्तानको काबुल विश्वविद्यालयमा भएको हमलामा परेर कम्तिमा १ जनाको मृत्यु भएको छ । अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ताका अनुसार विश्वविद्यालयमा भएको आक्रमणमा परेर १९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता तारिक आर्यानकाअनुसार विश्वविद्यालय परिसरमा अज्ञात ३ बन्दुकधारीले गोली चलाएका थिए ।

बन्दुकधारीले गोली चलाएलगत्तै छात्रछात्राहरुको भागदौड मच्चिएको थियो । सोमबार विश्वविद्यालय परिसरमा इरानी बुक फियरको उद्घाटन हुने कार्यक्रम रहेको थियो । आक्रमणलगत्तै सुरक्षाकर्मीहरुले विश्वविद्यालयलाई घेरा हालेर आक्रमणकारीविरुद्ध फायरिङ गरेका थिए । सुरक्षाकर्मीहरुले ती ३ जना आक्रमणकारीलाई मारिदिएको बीबीसीले जनाएको छ ।

तालिवान समूहले भने सो आक्रमणमा संलग्न भएको कुरा अस्वीकार गर्दै हमलाको निन्दा गरेको छ । अफगानिस्तानका शैक्षिक संस्थाहरु यसअघि पनि आक्रमणकारीहरुको निशानामा पर्दै आएका छन् ।