कालीमाटी वृत्तको डीएसपी हुँ भन्दै फोन गरेर धम्क्याउने एकजना पक्राउ

१७ कात्तिक, काठमाडौं । आफूलाई कालीमाटी वृत्तको डीएसपी बताउँदै फोन गरेर धम्क्याउने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–६ घर भएका बब्लु झा रहेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहोराले जानकारी
दिए ।

बब्लु झाले १३ कात्तिकमा बानेश्वर बस्दै आएका ४१ वर्षीय चन्दु झालाई ९८०५८५९२४५ नम्बरबाट फोन गरेर धम्क्याएको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी बोहोराले बताए । कालीमाटी वृत्तको डीएसपी बोलेको भन्दै फोनमार्फत बब्लुले चन्दुलाई धम्क्याएका थिए ।

‘तपाईको बब्लु झा गरेका व्यक्तिसँग के लफडा हो, तपाई तुरुन्त कालीमाटी वृत्तमा आउनुहोस्, नआए कारबाही अगाडि बढाउँछु,’ चन्दु झालाई अपरिचित नम्बरबाट फोन गरेर बब्लुले धम्क्याएको डीएसपी बोहोराले जानकारी दिए । चन्दु बब्लुको आफ्नै भाइ हुन् ।

१४ कात्तिकमा चन्दु झा कालीमाटी वृत्त गए । चन्दुले डीएसपी बोहोरालाई भेटे । अनि थाहा भयो चन्दुलाई फोन गर्ने व्यक्ति नक्कली डीएसपी । कालीमाटी वृत्तका डीएसपीले तत्कालै उक्त फोन नम्बरको आधारमा ती व्यक्तिको खोजीकार्य सुरु गरे । अन्ततः २ दिनपछि चन्दुलाई फोन गरेर धम्क्याउने बब्लु झा पक्राउ परेका हुन् ।

आर्थिक लेनदेनको विषयमा बब्लुले भाइ चन्दुलाई पटक–पटक अपरिचित नम्बरबाट फोन गरेर धम्क्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।