लोककथाका डमरु र बाहुबली फिल्मको पुत्र बाहुबलीले जस्तै खलपात्रलाई पाखा लगाउन समय लगाउने छैनन्

हिसाबकिताब सहित नेकपाको सचिवालयको एउटा हिस्सा नेकपालाई जाली गुफा बनाउन कम्मर कसेर मैदानमा उत्रिएको छ

कुनै जंगलको गुफामा एउटा बाघको परिबार बस्थ्यो । त्यही जंगलमा एउटा स्याल पनि रहन्थ्यो ।

स्यालले दिनहुँ बाघको परिबारको गतिबिधि नियालिरहेको हुन्थ्यो । बाघको फालेको रहलपहल खाएर स्यालको जीवन चलेको थियो ।
ऊ यतिमै सन्तुष्ट थिएन । ऊ केही गरी बाघलाई मार्ने र बघिनीको पौरखमा शानको जीवन बिताउने दाऊ हेरिरहेको थियो ।

उसले बडो मेनतत गरेर बाघलाई मार्न जाली गुफा तयार पार्यो। गुफा कस्तो भने, त्यहाँभित्र पस्नलाई अगाडि र पछाडिपट्टी दुई वटा मुख थिए । भित्र प्रवेश गर्न स्याललाई सजिलो पथ्र्यो । बाघ भने अटेसमटेस गरेर बडो मुस्किलले मात्र भित्रपस्न सक्ने खालको थियो । जाली गुफाको फन्दामा पारेर केही गरी बाघलाई मार्न सके बघिनीपति भएर त्यो जंगलमा राज गर्ने स्यालको सपना थियो ।

एक दिन बाघ jनमा गएको मौका छोपी स्यालले बघिनीलाई बोलाउँदै भन्यो– “बघिनी भाउजु, बघिनी भाउजु, बाघ दाजु खोई ?”
बघिनीले भनी– “किन ? के काम पर्यो ?”

स्यालले भन्यो– “त्यसलाई लात्तैलात्ताले हानेर मार्ने हो र तिमीलाई रानी बनाएर म यो जंगलको राजा भएर बस्ने हो । मेरो काम यही छ ।”
स्यालको छुल्याहा कुरा सुनेर बघिनी हायलकायल भई । उसले jनबाट बाघ फर्केपछि स्यालले दिएको हाँक सुनाई ।

भोलिपल्ट बाघ jनमा गएन । स्याललाई नमारी नछाड्ने उसले संकल्प लियो । बघिनी भने चिन्तित थिई । उसले सल्लाह दिई– “स्यालले कुनै जाल रचेको हुन सक्छ । हामी बाल बच्चासहित पलायन भएर अन्यत्र कतै बसाइ सरौं ।”

बाघ रिसले आगो भएको थियो । उसले गर्जन छाड्दै बघिनीलाई भन्यो– “नाथे स्यालको डरले मैले लालाबाला सहित पलायन हुनु < अहँ, हुन्न, हुनै सक्दैन ।”

नजिकै छिपिएर कुरा सुनिरहेको स्यालले पनि यही खोजिरहेको थियो । ऊ खुशीले गदगद भयो । बाघको परिबार डरले भागेको खण्डमा उसको जाल बेकार हुने थियो । कतै जाली गुफा तयार पार्न परेको मेहनत खेर जाने त होइन भन्ने उसको चिन्तालाई बाघको घमण्डले भगाई दियो । उसले केही पर गएर हाँक दिदै भन्यो– “बघिनी भाउजु, बघिनी भाउजु, बाघ दाजु खोई ? त्यसलाई आज लात्तैलात्ताले हानेर नमारी कहाँ छोड्छु र ?

बाघले स्यालको हाँक सुन्नै सकेन । ऊ स्याललाई झम्टिन गयो । स्याल पनि फुर्तिसाथ ज्यान जोगाई भाग्यो र केही पर रहेको जाली गुफाभित्र फ्वात्त पस्यो । रिसले चुर भएको बाघले पनि दुई खुट्टा र टाउको गुफाको मुखभित्र हाल्यो तर उसको ढाड साँघुरो दुलामा अड्कियो । छट्टु स्याल हतपत गरी गुफाको अर्को मुखबाट बाहिर आयो र बाघको पछिल्लो भागमा लात्ताले हान्न थाल्यो ।

बाघले आफ्नो प्रतिरक्षा गर्न बाहिर निस्कने प्रयास गर्यो । संवेदनशील अंगमा परेको आघातसामु उसको केही सिप चलेन । अन्ततः स्यालले बाघको इहलीला समाप्त पारेरै छाड्यो ।

आफ्नो लोग्नेलाई स्यालले मारेको देखेपछि बघिनीका नौनाडी गले । उसले साहसपूर्वक चिथोरेर स्यालको काम तमाम पार्न सक्थी तर उसको गलेको आँटले उसलाई नै धोका दियो र स्याललाई सघायो । बघिनीले स्यालसामु आत्मसमर्पण गर्नमै आफ्नो र डमरुहरुको जीवन सुरक्षित
देखी ।

बघिनीले स्याललाई लोग्ने मानी । डमरुहरु स्याललाई बाबा मान्न बाध्य भए । बाघको गुफामा स्यालको रजगज चल्यो । बघिनीको पौरखले गुफामा आएको मासु खानु र दिनरात सुतेर बिताउनु स्यालको दैनिकी बन्यो ।

समय बित्दै गयो । बघिनीले डमरुलाई शिकार गर्ने कला सिकाई । परिस्थिति अवलोकन कला, शिकारको झुण्डमा कमजोर कडी थाह पाउने कला, छिपिएर रहने कला, दम्किएर पछ्याउने कला, तिब्र गतिमा कुद्ने कला, शिकारको चलाकी र दाउ हेरेर लखेट्ने कला, नजिकै पुगेर झम्टिने कला, शिकारको प्रतिकार छल्ने कला, दम लिएर भिड्ने कला, घाँटी अँठ्याउने कला, नाक मुख थुनेर स्वास रोकिदिने कलामा डमरुहरु पारंगत भए ।

एक दिन डमरुहरु आमालाई थाहै नदिई जाली गुफाको मुखमा रहेको बाघको कंकाल हेर्न गए । उनीहरुमा प्रतिशोधको ज्वाला दन्कियो । उनीहरुले बाघको कंकाल छोएर कसम खादै स्याललाई मारेर पितृ ऋणबाट अऋणी हुने संकल्प गरे ।

उनीहरुले गुफामा आएर सुतिरहेको स्याललाई ब्युँझाउँदै भने– “बाबा भएर छोराछोरीलाई शिकार गर्न सिकाउनु छैन, दिनभरि सुतेर बस्ने <” स्यालले टार्दै भन्यो– “भुराभुरी हो, मेरो निद्रा नबिथोल । अहिले झाप्पु हान्नु नपरोस् ।”

डमरुहरुले पनि स्यालका चार खुट्टा समातेर झ्याइँकुटी पार्दै ओढार बाहिर मिल्काए । उनीहरुले भने– “हामीहरुलाई चौरमा लिएर खुरुक्कै शिकार गर्ने कला सिकाउँछौ कि फेरि मिल्काइदिऔं भिरबाट ?”

स्याल डरले भाग्न खोज्यो तर डमरुले उसलाई भाग्न दिएनन् । उपाय नलागे पछि स्याल शिकार गर्ने कला सिकाउन राजी भयो । डमरुलाई चौरमा लिएर उसले प्रयोगात्मक कक्षा सुरु गर्यो ।

पहिला, यसरी परिस्थिति अवलोकन गर्ने, त्यसपछि यसरी छिपिएर रहने । यसरी दम्किएर पछ्याउने, यसरी लखेट्ने, यसरी नजिकै पुगेर
झम्टिने । यसरी घाँटी अँठ्याउनु पर्छ । यसरी नाकमुख थुनेर स्वास रोकिदिएपछि शिकारको प्राण अन्त हुन्छ आदि । स्यालले डमरुलाई फुरुंग पार्ने प्रयास गर्यो र आफु त्यहाँबाट भाग्न खोज्यो । भाग्दै गरेको स्याललाई लखेट्दै डमरुहरुमध्ये एउटाले भन्यो– “बाबा, यसरी लखेट्ने है <”
दोश्रोले पक्रिदै भन्यो– “बाबा, यसरी पक्रिने है ”

तेश्रोले झम्टिदै भन्यो– “बाबा, यसरी घाँटी अँठ्याउने है ?”

चौथोले भन्यो– “बाबा, यसरी नाकमुख थुनेर सास रोकिदिने है ?”

अन्ततः स्यालले हो भने जस्तो गरी प्राण छोड्दै भन्यो– “हुँ, हुँ…।”

कसैलाई पनि एक पटक बेकुब बनाउन सकिन्छ तर सँधैभर बेकुब बनाउन सकिदैन, एक पुस्तालाई ठग्न र अत्याचार गर्न सकिन्छ तर पुस्ता पुस्तालाई ठग्न र अत्याचार लाद्न सकिदैन भन्ने सन्देश दिने यो लोककथाबाट नेकपालाई जाली गुफा बनाउन खोज्ने जतिले जति पाठ सिक्न सक्यो त्यति नै सबैको भलो छ ।

किनकि बहुदलीय जनवादीहरुसँग पञ्जा लडाउने चुलिएको महत्वांक्षाका व्यापारीहरुको हालत पनि अल्लारे डमरुबाट मार खाएर जीवनबाट हात धुन विवश स्यालको जस्तै हुने गरेको सिलसिला छ । जाली गुफामा पारेर बाघलाई मारेपछि लाछी स्यालको बाघको गुफामा रजगज चलेजस्तै जननेता मदन भण्डारीको अवशान पछिका दुई दशकमा पूर्वएमालेमा जबज बिरोधीहरुले तमासा देखाए । २०७० सालमा नबौं महाधिवेशनमा बहुदलीय जनवादीहरुले तमासाको अन्त गरे र एमालेलाई सक्कली चेहरा र भूमिकामा उतारे ।

केही बिभाजित मनोबिज्ञानका बाबजुद पनि बहुदलीय जनवादीहरुले प्राप्त गरेको त्यो जीत स्याललाई मारेर बाबाको हत्याको बदला लिने र आमामाथिको स्यालको अत्याचार अन्त्य गर्ने लोककथाका डमरुको जस्तै हिम्मतको परिणाम थियो । आज फेरि केपी ओलीलाई पन्छाएर बाघको छालामा स्यालको रजाइँका लागि मार्ग प्रशस्त गर्ने चलाखीले टाउको उठाएको छ ।

हिसाबकिताबसहित नेकपाको सचिवालयको एउटा हिस्सा नेकपालाई जाली गुफा बनाउन कम्मर कसेर मैदानमा उत्रिएको छ । नेकपाभित्रका ७० प्रतिशत बहुदलीय जनवादीहरुले भने जबज बिरोधीलाई कति खेर झ्याइँकुटी पारेर मिल्काउने भन्ने संकल्प गरेको स्थिति छ ।

सत्य र इमानसँगको दुष्मनीको मूल्य

नेकपामा बहुदलीय जनवादीहरु माथिको साजिसमा कर्ताहरु सत्य र इमानसँगको दुष्मनीले पर्ने क्षतिबाट बेखबर छन् । शक्ति भएर पनि हेपिएका वा परिस्थिति उल्टो परेर पाखा लागेका सत्पात्रहरु फर्किएर आएपछि बेइमान र बदमासमाथि हाबी हुन्छन् र सुनारको सय चोटको बदलामा लोहारको एकै चोटले बदला लिन्छन् । रामायणमा रामको विजय, महाभारतमा पाण्डवहरुको पुनरागमन र एसएस राजामौलीद्वारा निर्देशित साउथ इण्डियन चलचित्र बाहुबलीमा पुत्र बाहुबलीको पुनरागमनलाई नेपाली राजनीतिमा प्रयोग गरेर देखाउने गरी बहुदलीय जनवादीहरुले अन्तिम युद्ध तयारी थाल्नुको अब बिकल्प रहेन ।

कसैले राम्री हुन नपाइने, पतिव्रता रहँन नपाइने गरी रावणले व्यक्तिको मौलिक हक कुल्चिएकाले रामायणमा लंका उडेको देखाइएको छ । त्यसरी नै महारथि, पिता दु्रपदकी छोरी, महारथि दाजु धृष्टद्युम्न र शिखण्डी बहिनी, पाँच पाँच महारथि पतिकी पत्नी र कृष्णकी सखा द्रौपदीको इज्जत र मौलिक हकमाथिको खेलबाड नै महाभारत युद्धको जड थियो ।

बाहुबली फिल्ममा पनि नवयौवना अवस्थाकी कुन्तलदेशकी राजकुमारी देवसेनाको इच्छाएको वर अमरेन्द्र बाहुबलीलाई चुन्न पाउने हकमाथि उनका जेठाजु भल्लालदेवको अरुचि र बदला महिस्मती साम्राज्यको उतारचढाबको मूल पाटो बनाइएको छ ।

नेकपामा सबथोक रहनुपर्ने तर जनताको बहुदलीय जनवाद मात्र रहन नहुने हठ युग युगका खलनायकहरुले सिता, द्रौपदी र देवसेनामाथि गरेको अत्याचारकै हारीहारीको छ ।

नेकपाको साठी प्रतिशत हिस्सा, अझ गणितको दशमलव सिद्धान्तले ०.६ भन्दा माथिलाई सिंगो मान्ने गरेकाले लगभग सिंगो हिस्सालाई बहुदलीय जनवादीको सौर्य र जनताको जागरणले बचाएको थियो । पूर्वएमालेरुपी जहाजमा सीपी र वामदेवले २०५४ सालमा भूगोलबाट प्वाल पारेको र माधव र जेएनले २०६४ सालमा केन्द्रबाट प्वाल पारेको सत्य समीकरणका ंखेलले बिर्सिए पनि न इतिहासले भुल्ने छ न त्यो संकटबाट एमालेलाई बचाउने बहुदलीय जनवादीहरु नै भुल्ने छन् ।

त्यसैले चामल र कनिकालाई भौतिकशास्त्रले समान देखे पनि अर्थशास्त्र र बजारशास्त्रले समान नमाने जस्तै इतिहासका खोटा सिक्कालाई बहुदलीय जनवादीले टेर्नु पर्ने अवस्था छैन । मनमोहनका पछाडि बटारिएका पाखुरा देखेर बहुदलीय जनवादीहरु श्रद्धाले निहुरिएका थिएनन् बरु निष्ठा र इमानका प्रतिमुर्तिलाई सलाम ठोक्तै काँध थापेका थिए ।

तमासाका सर्जकलाई पुगेको हो भने मनमोहनलाई दिएको सम्मान पाका नेताहरुलाई दिनमै बहुदलीय जनवादीहरुको गरिमा बढ्ने छ । किनकी जनताबाट प्राप्त दुर्लभ साथ, समर्थन र शक्तिको दुरुपयोग गर्दै हिड्ने छुट र फुर्सद बहुदलीय जनवादीहरुलाई पनि छैन । होइन, कसैलाई डोज नपुगेकै हो र कसैका पाखुरा चिलाइकै हुन् भने हातमा दही जमाएर बस्ने बहुदलीयहरुको न बिगत छ, न बानी छ ।

सत्यमाथिको हमला र सत्पात्रले नगुमाउनु पर्ने धैर्य र हिम्मत तथा गर्नुपर्ने संकल्प र उद्यमबारे देवीप्रसाद सुवेदी आफ्नो पुस्तक वाल्मिकी र व्यासमा लेख्नुहुन्छ– “हस्तिनापुरको द्यूतसभामा अन्यायपूर्णढंगले जुवा–खेल भइरहँदा कृष्ण पाण्डवहरुको सम्पर्कमा थिएनन् । पाण्डवहरुको वनवास प्रस्थानपछि एकैचोटी पाण्डवहरुलाई भेट्न गएका कृष्ण अत्यन्त दीनतापूर्वक आफ्ना अगाडि बलिन्द्र धारा आँसु बगाइरहेकी द्रौपदीको अवस्थाप्रति अत्यन्त गम्भीर र द्रवित बने ।

द्रौपदीले भनिन् :कथं नु भार्या पार्थानां तव कृष्ण सखी विभो
धृष्टद्युम्नस्य भगिनी सभां कृष्येत मादृशी । (वन, १२ । ६१)

(विभु कृष्ण, कुन्तीपुत्रहरुकी पत्नी, तपाइँकी सखी, धृष्टद्युम्नकी बैनी मजस्ती नारीलाई सभामा कसरी घिच्याएर ल्याउन सकिन्थ्यो ?)
करुणाद्र बनेकी द्रौपदी भन्दै गइन् :

नैव मे पतयः सन्ती न पुत्राः न च वान्धवाःन भ्रातरो न च पिता नैव त्वं मधुसूदन ।(वन, १२।१२५)

(मधुसूदन, अब मेरा लागि न लोग्ने छन्, न छोरा छन्, न दाजु भाइहरु छन्, न इष्टमित्र छन्, न बाबु छन् न त तपाइँ नै हुनुहुन्छ ।)
उनी विशेषतः कृष्णप्रति आशामुखी बनिन् :

चतुर्भि कारणैः कृष्ण त्वया रक्षास्मि नित्यशःसम्बन्न्धाद् गौरवाद् सख्यात् प्रभूत्वेव केशव ।(वन, १२ । १२६)

(केशव, तपाइँले मलाई सँधै रक्षा गर्नु पर्नेका चार कारण छन् । एक त तपाइँसँग मेरो नाता समन्ध छ, दोश्रो म यज्ञकुण्डबाट जन्मेकी हुँदा गौरवशालिनी छु, तेश्रो म तपाइँकी साथी पनि हुँ र चौथो तपाइँ नै मेरो रक्षा गर्न समर्थ हुनुहुन्छ ।)

द्रौपदीको यो करुण क्रन्दनले तत्कालीन भारतीय आर्य नारीहरुको संवेदनशील पुरुष मनलाई घच्घच्याउने अन्तरमनको प्रतिनिधित्व गरेको थियो । यसभन्दा अघि भारतवर्षीयभूमिका कैयन् अत्याचारी राजाहरुलाई समाप्तप्रायः बनाइसकेका कृष्णले द्रौपदीको त्यो करुण पुकारलाई आफूभित्र धेरै वेर थाम्न सकेनन् र उनले तत्कालै घोषणा गरे :

सत्यं ते प्रजितानामि राज्ञां राज्ञी भविष्य सिपतेद्द्यौर्हिमवाञ्छीर्येत् पृथिवी शकली भवेत्शुष्येत् तोयनिधिः कृष्णे न मे मोघं वचो भवेत् । (वन, १२ । १३०–१३१)

(कृष्णे, म सत्य प्रतिज्ञाकासाथ भन्दैछु– तिमी राजरानी बन्नेछौ । चाहे आकाश फाटोस्, हिमालय पर्वत फुटोस्, पृथ्वी टुव्रmा टुव्रmा बनोस्, समुद्र सुकोस् तर मेरो वचन झुटो हुने छैन ।)

कृष्णको यो प्रतिज्ञा उनको जीवनकै सायद पहिलो कठोर र अभूतपूर्व प्रतिज्ञा थियो । द्रौपदीका पराव्रmमी पति अर्जुन र भीमले वनवास प्रस्थानभन्दा ठीक अघि गरेका प्रतिज्ञाहरु कृष्णको यो प्रतिज्ञाका आंशिक रुपका मात्र थिए । अन्ततः कृष्णको यो प्रतिज्ञा नै महाभारतीय महाविनाशक युद्धको अपरिहार्य घटक बन्न पुग्यो ।

नेकपालाई जाली गुफा बनाउन कम्मर कसेर लागेको हिस्साले जबजलाई चीरहरण गरिएकी द्रौपदीको हालतमा पारेको छ भने बहुदलीय जनवादीहरुको हालत वनबास खेदाइएका पाण्डवको जस्तो रहेको छ । सबथोक भएर पनि ईखको आपूर्ति गर्न नसक्दा बहुदलीय जनवादीहरु स्थिति अझै नाजुक हुने देखिएको छ । त्यसैले ईखको खोजी बहुदलीय जनवादीहरुका लागि अपरिहार्य विषय बनेको छ ।

ईख भएको मान्छे र विष भएको सर्पको तौल, भाउ र महत्ता झल्काउनुको हिसाबले बाहुबली चलचित्र बडो महत्वपूर्ण छ । जेठाजु भल्लालदेवको कोपका कारणले पति अमरेन्द्र बाहुबलीको हत्या भएपछि वैधव्य जीवन बिताउन विवश देवसेना २५ वर्ष लामो जेल जीवन विताइरहेकी हुन्छिन् । देवसेनाले सासु राजमाता शिवगामी देवीको पलायनसँगै २५ वर्ष अघिदेखि बेपत्ता रहेको पुत्र महेन्द्र बाहुबली फर्किएर आउने र भल्लालदेवलाई मारेर छाड्ने आशाको दियो बाली राख्छिन् ।

उनी निरन्तर दाउरा बटुलेर भल्लालदेवलाई पोल्नलाई चिता सजाइरहेकी हुन्छिन् । राती आएर गुलाम कटप्पाले देवसेनालाई कैदबाट भाग्न आग्रह गर्छ, देवसेनाको मरिसकेको छोरा कसरी आउँछ भन्दै प्रश्न गर्छ र दाउरा बटुल्ने उद्यमलाई पागलपन भन्दै दाउरा उछिट्याइदिन्छ । आशावादकी प्रतिमा देवसेनाले भन्छिन्– “मेरो दाउरा बटुलाई तँलाई पागलपन लाग्छ नि कटप्पा ? म चिता सजाइरहेकी छु । भल्लालदेवको रगत, प्राण हड्डी र मासु जलाउनको लागि म चिता सजाइरहेकी छु । मेरो छोरो जिउँदै छ । बाहुबली फर्केर आउने छ ।

जसले भल्लाल देवलाई चितामा पल्टाउने छ र मैले उसको चितामा आगो सल्काउने छु । जब भल्लालदेव प्राण छोड्नु अघि चित्कार छोड्नेछ, महिस्मती दरबारका भित्तामा त्यो आवाज गएर ठोक्एिर प्रतिध्वनित हुनेछ । महिष्मती भल्लाल देवको पापबाट मुक्त हुनेछ र चैनले सास फेर्ने
छ ।”

निष्ठा नै भारी परेर पति अमरेन्द्र बाहुबलीले अकालमा ज्यान गुमाए पनि पुत्रको प्रत्यागमन पछि स्थिति आफ्नो पोल्टामा पार्ने देवसनाको धैर्यले काम पाउँछ । २५ वर्षे लक्का जवान भएर महावली महेन्द्र बाहुबलीको महिस्मतीमा पुनरागमन हुन्छ । उसले देवसेनालाई मुक्त पार्छ ।

उसलाई पछ्याउँदै आएको भल्लालदेवको छोरा भद्रा बाहुबलीको हातबाट मारिन्छ । भद्राको प्रतिरक्षामा गएको कटप्पा भिड्दाभिड्दैको अवस्थामा पुत्र बाहुबलीलाई पिता बाहुबली जस्तै देखेपछि चिन्छ र हतियार त्याग्छ । पुत्र बाहुबलीसामु कटप्पाले आत्मसमर्पण गर्दै बफादारिता देखाएपछि बाहबलीको सत्य प्रष्ट हुन्छ । देवसेना, उनको माइती कुन्तलदेशको विस्थापित सेना, अलपत्र अवस्थाको बालक बाहुबलीलाई पाल्ने मातापिता र उनको संघ, बाहुबलीलाई कुनै बेला महिस्मतीको राजा घोषणा गरिएकाले उनलाई राजा मान्न तयार महावली कटप्पा लगायतको समूहको सम्मिलनले स्थिति भावुक बन्छ ।

सामान्य परिवारमा हुर्किएको बालक महेन्द्र बाहुबली एकाएक आफू छलकपटले भरिएको महिस्मती साम्राज्यको उत्तराधिकारी भएको चाल पाउँछ । उसले समाजतिर फर्किएर प्रश्न गर्छ– “आखिरमा म को हुँ ?”

कटप्पाले आँखाबाट आँसु बगाउँदै भावुकमुद्रामा पिता बाहुबलीको तरबार देखाउँदै महेन्द्रको असली परिचय गराउँदै भन्छ– “हाम्रा भगवान अमरेन्द्र बाहुबलीको अंश हौं तिमी । आफ्नी माता देवसेनाको २५ वर्ष लामो प्रतीक्षाको परिणाम हौ तिमी, राजमाता शिवगामीदेवीको वलिदानको फल हौं तिमी ।”

बयोवृध कटप्पा महेन्द्रको लालनपालन गर्ने संघा दम्पतीसामु गएर कृतज्ञता प्रकट गर्छ– “हाम्रो मरिसकेको आशालाई फिर्ता गरिदिएर, उसको पालनपोसन गरेर हुर्काएर तथा उसलाई महावीर बनाएर हामीलाई दिनु भयो । यसका प्रति महिस्मती साम्राज्य यहाँहरुप्रति जन्म जन्मसम्म ऋणि रहने छ ।”

कटप्पाले महेन्द्र बाहुबलीको साँचो बिगत सुनायो । कसरी महेन्द्र बाहुबलीका बाजे राजा विजुलीदेव षडयन्त्रपूर्वक मारिए, कसरी विजुलदेवकी भाउजु शिवगामीदेवीले महिस्मतीको नायवी भएर शासन गरिन्, अपांग हात भएकाले राजा हुनबा बन्चित पारिएको पति हरिहरदेवको अरुचिका बाबजुद राजमाता शिवगामीले आमा र बाबु दुबै गुमाएको महेन्द्र बाहुबलीलाई आफ्नो छोरो भल्लालदेवकै सरह पालनपोषन गरिन् आदि घटनामा सबिस्तार बतायो ।

राजमाता शिवगामीको न्यायिक छवि र चौडा छात्तीमाथि कटप्पाले प्रकाश पार्यो । दुई छोरा मध्ये जो योग्य होला र जनताको मन जित्न सक्ला उसैलाई राजा बनाउने शिवगामीको प्रतिज्ञा हुन्छ । एक परीक्षामा जब शस्त्र विद्या र शास्त्र दिद्यामा दुबै राजकुमार बराबर देखिए तब शिवगामीले प्रसन्न मुद्रामा भन्छिन्– “प्रमेश्वर मेरा दुबै छोरालाई समान कृपा गरेर मेरो परीक्षा लिइरहेको छ । शास्त्रीजी, अsf]{ एक कडा परीक्षाको आयोजन गर्नुहोस् ।”

कटप्पा एक एक घटना सुनाउँदै गयो । दुई राजकुमारको सिंघपुरंम यात्रा, त्यहाँबाट फर्किने बेलामा बाटामा बाहुबलीलाई भिरबाट खसालेर मार्ने भल्लालदेवको असफल प्रयास, कालकेयले गरेको महिस्मतीमाथिको आव्रmमण, युद्धमा अमरेन्द्र वाहुवलीले देखाएको वीरता, कालकेय सेनापतिको हत्यामा बाहुबलीको सौर्यमाथि भल्लालदेवले आफुले मारेको देखाउन गरेको अर्घेल्याइँ र छुद्रता, युद्धमैदानमा घाइते नरनारीको उद्धारका क्रममा बाहुवलीले देखाएको जनभक्ति, कालकेय सेनानायकको हत्या आफ्नो वा हाम्रो छोराले गरेको भन्दै हरिहरदेवले शिवगामीबाट भल्लाल देवलाई राजा घोषणा गराउन गरेको असफल प्रयास, भल्लालदेवलाई राजा बनाउन खोज्दा जनतामा देखिएको चरम असन्तुष्टि र अरुचि, जनताको मनजितेकाले बाहुबलीलाई राजा र भल्लालदेवलाई सेनापति घोषणा गर्ने शिवगामीको साहसी निर्णय, बाहुवलीलाई राजा घोषणा गर्ने शिवगामीको निर्णयलाई जनताले दिएको दह्रो साथ र जनतामा छाएको उल्लास ।

बाहुबलीको महिमा सुनेर हर्षित भएको समाजले बाहुवलीलाई हेर्ने चाह राख्यो । निष्ठाको प्रतिमा अमरेन्द्र बाहुबलीलाई आफुले राजाज्ञाका कारणले छलपूर्वक मारेको स्वीकारसहित प्रायश्चित्त गर्दै कटप्पा भन्छ– “तीर र तरबारको धारभन्दा घातक हुन्छ, विश्वासघात । विश्वासघातका कारण ती भगवान अब यो धर्ती रहेनन् । उनलाई विश्वासघात गर्ने, ऊ निँच, मै थिएँ ।”

स्थिति कसरी बिग्रियो र एउटा बफादार गुलाम आफुमाथि कस्तो निर्दयी राजाज्ञा लादियो र त्यो पाप उठाउनु प¥यो, कटप्पा आफ्नो विवशता बताउँछ । बाहुबलीलाई राजा घोषणा गर्ने शिवगामीको निर्णयप्रति हरिहरदेव र भल्लालदेवले पालेको तुष, प्रतिशोध र जालसाँझी, हरिहरदेव, भल्लादेव गुटको कपटबाट बेखबर शिवगामीको आत्मविश्वास, शिवगामीको आज्ञाले बाहुबली र कटप्पाको देशदेशान्तर यात्रा ।

कुन्तलदेशकी राजकुमारी देवसेनाप्रति बाहुबलीको आकर्षण र मन्दबुद्धिको नाटक, मन्दबुद्धिको असमान्य क्षमताप्रति देवसेनाको शंका र प्रेमगीत, देवसेनाको सुन्दरता र बाहुबलीसँग उनको प्रेमको चाल पाएर सत्ता पनि उसैलाई सुन्दरी पनि उसैलाई भन्दै हरिहरदेव पितापुत्रको जलन ।

देवसेनासँग बाहुबलीको प्रेम छ भन्ने सत्य छिपाएर देवसेना भल्लालदेवका लागि मगनी गर्न हरिहरदेव पितापुत्रको शिवगामीमाथि दबाब, छोराको चाल थाह नपाइकी शिवगामीको राजसिंहासन त्याग्ने आफ्नो त्यागी छोराको लागि एक कमजोर, गरीव एबं मामुली राज्यकी राजकुमारीलाई मगनी गरेर कसो खुशी नपारौं भन्ने सदासयाता ।

शिवगामीको भल्लाल देव र देवसेनाको गठबन्धन बिबाह गर्ने निश्चय, मन्दबुद्धि रुपका बाहुबलीप्रति आकर्षित देवसेनाबाट महिष्मतीकी राजमाताको प्रस्ताव ठाडै अस्विकार, शिवगामीद्वारा कुन्तलदेशमा आव्रmमण गरी देवसेनालाई बन्दी बनाएर महिष्मती ल्याउने घोषणा, हरहरसिंह देवको बाहुबली कुन्तलदेश नजिकै भएकाले सेना पठाउन नपर्ने, बाहुबली एक्लैले कुन्तल देशलाई परास्त गरेर देवसेनालाई बन्दी बनाएर ल्याउन सक्ने र सन्देस पठाए पुग्ने सुझाब ।

कुन्तलदेशमा पिण्डारीको आव्रmमण, मन्दबुद्धि रुपी वाहुवली र कटप्पाद्वारा कुन्तलदेशको रक्षा, प्रशन्न भएका कुन्तलदेशका राजाद्वारा बहिनी देवसेना मन्दबुद्धिलाई कन्यादान दिने घोषणा, चिडियाबाट देवसेनालाई बन्दी बनाउने राजमाताको आज्ञा सहितको सन्देस पढेर बाहुबलीको देवसेनालाई बन्दी बनाउने जानकारी, मन्दबुद्धि महिस्मतीको हुनेवाला महाराजा अमरेन्द्र बाहुबली भएको खुलासा । ‘प्रेम हो भने खुट्टामा धुलो भएर जाने तर स्वाभिमान गिराएर बन्दी बनेर जान नसक्ने’ देवसेनाको दृढता, ‘म केबल तिम्रो हुँ देवसेना, तिमी मेरो समन्धी बनेर आऊ, प्राण रहेसम्म तिम्रो गौरव र मर्यादामाथि आँच आउन दिने छैन’ भनेर बाहुबलीले आश्वस्त पारेपछि देवसेनाको बाहुबली र कटप्पाको साथ महिस्मती प्रस्थान ।

महिस्मती राजसभामा देवसेनाबाट शिवगामीसामु बचन तोडेकोमा र अहंकार देखाएकोमा क्षमा याचना । शिवगामीबाट आफूलाई हुनेवाली बुहारीको यत्तिको अहंकार राम्रो लाग्ने जवाफ र देवसेनालाई आफ्नो छोरालाई वरमाला लगाउन आदेश । देवसेनाले भल्लालदेवको सट्टा बाहुबलीतिर गएर बरमाला लगाउन थाले पछि शिवगामीद्वारा देवसेनालाई खप्की र भल्लालदेवलाई बर चुन्न आदेश ।

देवसेनाद्वारा कडा प्रतिवाद । कटप्पाद्वारा मगनी छोराको लागि भनेको तर नाम नतोकेकाले बाहुबली सम्झेर गल्ती आफूबाट भएको भन्दै स्थिति साम्य पार्ने प्रयास, क्रोधित शिवगामीद्वारा देवसेनालाई बन्दी बनाउने आदेश । देवसेनालाई बन्दी बनाउन आएको सैनिक टुकडीलाई नांगो तरबारले प्रतिवाद गर्दै बाहुबलीद्वारा देवसेनालाई छुनु भनेको बाहुबलीको तरबार चलाउनु हो भन्ने चेतावनी ।

शिवगामीद्वारा बाहुबलीलाई महिस्मतीको सिंहाशन वा देवसेना मध्ये एक रोज्न चेतावनी । बाहुबलीद्वारा देवसेनाको गौरव र मर्यादामा आँच आउँन नदिने वचनको उलंघन भन्दा गद्दीको त्याग उचित भएको जवाफ । शिवगामीबाट भल्लाल देवलाई महिस्मतीको राजा घोषणा र वाहुबलीलाई सेनानायकमा नियुक्ति, भल्लालदेवको राज्याभिशेख, बाहुबली–देवसेना बिबाह ।

हरिहरदेव र भल्लाल देवले शिवगामी बाहुबलीबाट बेखुश भएको मौका छोपी सेनापतिबाट समेत हटाएर बाहुबलीको हत्या गर्ने दाउ हर्नु । देवसेनाको गर्भमा महेन्द्र बाहुबलीको आगमन, गोद भराईका दिन शिवगामीसँग आफ्नो बोलचाल हुने बाहुबलीको आशा, भल्लालदेवबाट बाहुबलीलाई सेनापतिबाट बर्खास्ती र सिन्धुपतिलाई सेनापतिमा नियुक्त । बाहुबलीलाई राजआज्ञा मन्जुर । देवसेनाबाट कडा प्रतिवाद ।

देवसेनाले शिवगामीलाई हप्काउँदै भनिन्, “तपाइँकै अगाडि यो अत्याचार भैरहेको छ तपाइँ चुपचाप हुनुहुन्छ, राजमाता ? एक अत्याचारीको अत्याचार भन्दा सज्जनको मौनता राज्यको लागि हानिकारक हुन्छ ।”

धैर्य गर्न भन्दै बाहुबलीले देवसेनालाई सम्झाउने कोशिस गर्छन् । देवसेनाले ठाडै अस्विकार गर्छिन् र आफुलाई शुभकामना दिन उपहारको थुप्रो ल्याएर आएको जनसमुदायको भिड देखाउदै भन्छिन्– “यहाँ मलाई शुभकामना जुन भीड लागेको छ, त्यो मेरो लागि आएको होइन, जनता त तपाईँलाई राजा भएको देख्न चाहन्छन् । जनताको चाहना पूरा गर्नु क्षत्रिय धर्म हो । हिम्मत छ भने क्षत्रिय धर्म पूरा गर्नुहोस् ।”कटप्पा बिगतका घटना भन्दै गयो ।

मन्दिरमा दर्शन गर्न गएकी देवसेनाले भक्त महिलासहित आफ्नो अपमान गर्ने सेनापति सिन्धुपतिको औंलो काट्नु, राजसभामा त्यसको सुनुवाई हुनु, बाहुबलीले सिन्धुपतिको टाउको छिनाल्नु र बन्दी बनाइएकी देवसेनालाई मुक्त पार्नु, शिवगामीलाई यो सब बाहुबलीलाई राजा बनाउने देवसेनाको कपटको परिणाम हो भन्ने लाग्नु । हरिहरसिंह र भल्लालदेवले बाहुबलीको सहयोगी कुमार बर्मालाई भल्लाल देवको शयन कक्षमा कपटपूर्वक झिकाएर हत्या गर्नु ।

भल्लालदेवको अनुहारमा आफै घाऊ बनाएर सब षडयन्त्र बाहुबलीले गरेको भन्दै शिवगामीलाई बाहुबलीलाई मृत्युदण्ड दिनका लागि दबाब दिनु । बाहुबलीले यत्रो अपराध गरेको ठानेर शिवगामीले कटप्पालाई हत्याको लागि खटाउनु । कटप्पाले बाहुबलीबाट यसो हुनै नसक्ने बताउनु र शिवगामीले अन्यथा आफैले बाहुबलीको हत्या गर्ने बताएपछि कटप्पाले राजाज्ञा मान्दै बाहुबलीलाई पछाडिबाट तरबारले हान्नु, कटप्पाले राजाज्ञाले मैले यसो गर्नु पर्यो मलाई मार भन्दै तरबार दिएर गर्दन थापे पनि बाहुबलीले बदलाको भाव नराखी जीवन दान दिनु ।

त्यति बेला कटप्पाले शिवगामीलाई भनेछ, “तिमीले ठूलो गल्ती ग¥यौ शिवगामी । प्राण छोड्ने बेला बाहुबलीलाई आफ्नी श्रीमती देवसेना र उनको कोखमा बल्नेवाला बालकको कुनै चिन्ता थिएन । चिन्ता थियो त केबल तिम्रो मात्र । बाहुबलीको अन्तिम वाक्य थियो– ‘आमाको ख्याल गर्नु ।’ जबकी तिम्रो छोरो भल्लादेव भने बाहुबली मरेको खुशियालीमा उसको मरेको लाशमाथि परेर तिमीलाई भन्दै थियो– ‘माता, मुर्ख माता, जो मलाई भन्दा अधिक माया तँलाई गर्थी, उसै मुर्ख माताको नाममा मैले यो मृत्युकाण्ड लेखाइदिएँ । तिमीबाट भुल भयो राजमाता ।”

कटप्पाले त्यस पछिका घटना सुनायो । राजामातामा पश्चाताप जाग्नु, सपुत्र देवसेना महिस्मती दरबार जानु, भीडले दरबार घेरेर बाहुबलीको हत्याबारे सत्यतथ्य खोज्नु, भल्लाल देव र हरिहर देवले देवसेनाको गोदको बालकले भोलि प्रश्न उठाउने भन्दै मार्ने प्रस्ताव शिवगामीसामु राख्नु, शिवगामीले अपेक्षाको विपरित गएर देवसेनाको गोडामा परेर भुलबश अपराध भएकोमा क्षमा माग्नु र बालकलाई उठाएर जनसमुदायलाई देखाउँदै अमरेन्द्र बाहुबली नरहेको र बालक महेन्द्र बाहुबली राजा भएको घोषणा गर्नु ।

भल्लालदेवलाई शूलीमा चढाउने शिवगामीले घोषणा गर्नु, आफ्नो प्यारो छोरालाई धोबी मार दिन सक्यौ तर म त कति निँच छु र आफ्नो ख्याल कति राख्छु भन्दै भल्लालदेव आमासामु असली अनुहारमा आउनु । उसको सैन्य टुकडीको हमलाबाट कटप्पाले बालक बाहुबली सहितकी शिवगामीलाई भगाउनु, देवसेनाले रोक्तारोक्तै पनि भल्लाल देवले महलको छतबाट तीर हानेर शिवगामीलाई नदीमा हुत्याउनु, घाइते शिवगामीले आफु मरेर पनि बालकलाई बचाउनु ।

सबै वृतान्त सुनाएर कटप्पा अन्तिममा महेन्द्र बाहुबलीलाई चुनौती र दायित्वको भारी बोकाउँदै भन्छ– “तिम्री जननी र जन्मभूमि बिगत २५ वर्षदेखि केबल तिम्रै प्रतीक्षामा छन् केवल तिम्रै प्रतीक्षामा ।”

अन्ततः बाहुबलीधुरीको मोर्चाले महिस्मतीबाट भल्लालदेवको तख्ता उल्टाइदिन्छ । अन्तिम युद्धमा वाहुवलीले भल्लालदेवलाई थला पार्छ र देवसेनाले कैदी अवस्थामा २५ वर्षसम्म दाउरा जम्मा गरेर सजाएको चितामा भल्लालदेव लाई जलाइन्छ ।

निष्कर्ष :
नोम चमस्की भन्नुहुन्छ– ‘कुनै पनि लेखक बुद्धिजीवीको उत्तरदायित्व भनेको एउटा नैतिक एजेन्टका रुपमा मानव महत्वका मुद्दाहरुको सत्यतथ्य त्यस्ता मानिससम्मुख ल्याउनु हो जसले ती मुद्धाहरुमाथि ठोस कार्यवाही गर्न सक्छन् ।’

बहुदलीय जनवादहरुले चुनौतीको पहाड पन्छाउन जनदेवताको उपासना जारी राख्नु छ । रामले संकटमोचनको लागि शिवजीको स्मरण गरे र रामेश्वरमा शिवलिंगको स्थापना गरे । कुष्णले पनि शिवजीलाई खुशी पारेरै शक्तिको असीम अभ्यास गरे । उनले शिवजीलाई कति खुशी पारेका थिए भने एउटाप्रसंगमा महादेव स्वयं अश्वस्थामासँग बताउँछन्– ‘श्री कृष्णले सत्य, शौच, सरलता, त्याग, तपस्या, नियम, क्षमा, भक्ति, धैर्य, बुद्धि, र वाणीद्वारा मेरो यथोचित आराधना गर्नु भयो । त्यसैले उहाँभन्दा बढ्ता मेरोलागि कोही पनि प्रिय छैन ।’

बाहुबलीको शक्तिमा पनि शिवको उपासना छ । श्वामीजी बाहुबली पालकर्ता माता संघालाई भन्छन्– ‘मनैदेखि महाकालको अभिशेख गर । शिवजी तिम्रो छोरालाई उचित दिशा प्रदान गर्नु हुनेछ ।’

जनताको राजनीतिको यो युगमा जनता नै भगवान हुन् । जननेता मदन भण्डारी भन्नुहुन्थ्यो– ‘हाम्रा भगवान भनेका नबोल्ने ढुंगाका देउताहरु होइनन्, जीवित जनता हुन् ।’ राजनीतिको गडबडीको समाधानकर्ता जनता जनाद्र्धन हुन् भने पार्टी जीवनको गडबडीका समाधान सूत्र कार्यकर्ताको अदालत हो ।

नेकपालाई जाली गुफा बनाउने र जालसाँझीपूर्ण ढंगले जबज हटाएरै छाड्ने हठले पनि बहुदलीय जनवादीहरुलाई आधुनिक लंका युद्ध, महाभारत युद्ध र महिस्मती युद्धका लागि आमन्त्रित गरिरहेको छ र जनदेवता गुहार्न बाध्य पार्दैछ । कुनै बेला मदन र सीपीको बाघको छालामा रजगज गर्दा पूर्वएमालेका केही हस्तीहरुले प्रचण्ड र बाबुरामलाई नौ सिटे पार्टीका नेता भनेर हेलाहोचो गरेको पाइन्थ्यो ।

आज बहुदलीय जनवादीहरुको रिस र प्रतिशोधका कारणले प्रचण्डलाई धुरी मान्नमा तिनै हस्तीहरुले देखाएको लज्जाहीनता आफ्नो लोग्नेको हत्यारा स्याललाई पतिदेव स्विकार गर्ने लोककथाको लाक्षी बघिनीकै हाराहारीको कायरपन हो । मदन भण्डारीले जबज, नेपाली क्रान्ति र नेपाली जनताको लागि प्रतिपादन गरेकाले यसको रक्षाको दायित्व युवापुस्ताको काँधमा छ । जब वास्तविक कुरा युवापुस्ताले थाहा पाउनेछन् तब जाली गुफा लोककथाका डमरु र बाहुबली फिल्मको पुत्र बाहुबलीले जस्तै खलपात्रलाई पाखा लगाउन समय लगाउने छैनन् ।

लेखक : शाही, राजनीतिक विश्लेषक एवं नेकपाका युवा नेता हुनुहुन्छ ।