मुख्यमन्त्री शाहीद्धारा प्रधानमन्त्री ओली निकट मन्त्रीको राजीनामा माग

१६ कार्र्तिक, काठमाण्डौ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफूलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा मागेपछि सामाजिक सञ्जाल मार्फत् जानकारी दिएको बताएका छन् । मन्त्री रावलले आज बिहान सामाजिक सञ्जाल मार्फत् आफू मन्त्रालयबाट बाहिरिन लागेको संकेत दिएका छन् ।

मन्त्री रावलले लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पु¥याउन प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’ रावलले यो फेसबुक स्टाटस अहिले हटाइसकेका छन् ।

हिजो साँझ मात्रै मुख्यमन्त्री शाहीले राजीनामा मागेको मन्त्री रावलले अनलाइनखबरलाई बताए । उनले भने, ‘उहाँले हामी दुई जना (रावल र नन्दसिंह बुढा) प्रधानमन्त्री पक्षकाले हटिदिनुपर्ने संकेत गर्दै राजीनामा लेख्न भन्नु भयो । कुनै गल्ती नगरेकाले के भनेर राजीनामा लेख्नु ? त्यसैले बिहानै सामाजिक सञ्जालबाट संकेत दिएको हुँ ।’

उनीसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई राजीनामा मागिएको मन्त्री रावलले बताए ।

मुख्यमन्त्री शाहीले हटाए हट्ने, तर रावल र बुढाले पदबाट राजीनामा भने नदिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा राजीनामा नदिने, बरु हटाए हट्ने तयारी भएको स्रोतले जनायो ।

मुख्यमन्त्री शाहीले ओली पक्षका मन्त्रीहरु हटाउने तयारी गरेकोबारे हिजो साँझ नै बालुवाटारले सूचना पाएको थियो । यसपछि प्रधानमन्त्री ओली निकटका नेताहरु छलफलमा समेत बसेका थिए । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार पार्ने पक्षमा उभिएकाले रावल र बुढालाई हटाएर बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री बनाउने तयारी भएको छ ।

ओली निकट नेता यमलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार भएको थियो । तर, अविश्वासको प्रस्तावबाट नेता नेपाल पक्षका सात सांसद पछि हटेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको थियो ।

त्यसबेला शाहीले नेपाल पक्षका नेताहरुसँग तीन जना मन्त्री थप्ने र सचेतक दिने सहमति जनाएका छन् । तर, प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद पुनर्गठन रोकिदिए ।

यसपछि कर्णालीका नेताहरुलाई काठमाडौं बोलाए पनि ओली र प्रचण्डबीच कुरा मिल्न नसक्दा शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् । स्रोतका अनुसार, प्रचण्डले नरोके आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको छ ।

नेपाल समूहले मन्त्रीका लागि चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम सिफारिस गरिसकेको छ ।

यसअघि नै मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् भने अविश्वासको प्रस्ताव अगाडि बढाउने गुलाबजंग शाहीलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई नियुक्त गरेका छन् ।